यात्रुको ज्यान जोखिममा पार्दै मापसे गरी गाडी चलाउने ७ चालक पक्राउ

यात्रुको ज्यान जोखिममा पार्दै मापसे गरी गाडी चलाउने ७ चालक पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको छ।

उपत्यकाका विभिन्न स्थानमा आइतबार गरिएको विशेष सुरक्षा जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बस, माइक्रोबस र हायसका चालकहरू रहेका छन्, जसले यात्रुहरूको जीवनलाई नै जोखिममा पारेर सवारी चलाइरहेका थिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंको बाफलबाट तीन जना चालक पक्राउ परेका छन्।

बाफलमा रिङरोड चल्ने बा ५ ख ६८१५ नम्बरको बसका चालक, बा ५ ख ७९१ नम्बरको बसका चालक र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायसका चालकलाई नियन्त्रणमा लिइएको हो।

त्यस्तै, गौशालाबाट महानगर यातायातको बागमती प्रदेश-०१-००६ ख ८९८३ नम्बरको बस चालक र चाबहिलबाट बा ४ ख ९३५६ नम्बरको बसका चालक पक्राउ परेका छन्।

यसैगरी, कोटेश्वरबाट बागमती प्रदेश ०१-००६ ख ५४३१ नम्बरको रात्रिकालीन बसका चालक तथा ललितपुरको सातदोबाटोबाट बा ४ ख ४१० नम्बरको माइक्रो चालकलाई पनि मापसे गरी सवारी चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका सबै चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

कात्तिक १०, २०८२ सोमबार ०७:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।