ट्रम्प र सी जिनपिङबीचको भेटअघि अमेरिका र चीन सम्झौताको खाकामा सहमत
एजेन्सी : अमेरिका र चीनबीच एक सम्भावित व्यापार सम्झौताको खाकामा सहमति बनेको छ, जसलाई यसै साता दुई देशका शीर्ष नेताहरूको भेटवार्तामा छलफलका लागि प्रस्तुत गरिनेछ।
यो जानकारी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दिएका हुन्।
बेसेन्टका अनुसार यस खाका अन्तर्गत टिकटकको अमेरिकी सञ्चालनबारे ‘अन्तिम सम्झौता’ र चीनद्वारा दुर्लभ खनिज पदार्थहरूमा लगाइएको नयाँ नियन्त्रणलाई स्थगन गर्ने निर्णय समावेश छ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनियाँ सामानमा लगाइने भनिएको १०० प्रतिशत ट्यारिफ अब लागू हुने सम्भावना नरहेको पनि स्पष्ट पारे।
यसको बदलामा चीनले अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिनको खरिद पुनः सुरु गर्नेछ।
विश्वका दुई ठूला अर्थतन्त्रहरू बीच चलिरहेको व्यापार युद्धलाई थप चर्कनबाट रोक्न दुवै देश प्रयासरत छन्।
राष्ट्रपति ट्रम्प हाल एसियाको एक हप्ते भ्रमणमा छन् र यसै यात्राका क्रममा उनले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्।
सोही भेटमा यो सम्झौताको खाकालाई अन्तिम रूप दिनेबारे छलफल हुने अपेक्षा गरिएको छ।
कात्तिक १०, २०८२ सोमबार ०७:२४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।