पश्चिमी वायू र अरबी सागरको प्रभाव : देशका अधिकांश भू-भागमा बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौं : देशमा पश्चिमी वायू र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आज (सोमबार) देशभरको मौसममा बदली आएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीले देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारणतया बदली गराएको हो।
महाशाखाले आज बिहान जारी गरेको पूर्वानुमान अनुसार, दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागहरूमा मौसम सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
यसैगरी, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राती मौसमको प्रभाव थप बढ्ने देखिएको छ। महाशाखाका अनुसार, राती विशेषगरी गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम स्तरको वर्षा वा हिमपात हुने सम्भावना छ।
बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले पश्चिमी वायू र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभावले मौसममा यो परिवर्तन आएको बताएका छन्। यस प्रणालीको प्रभाव केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ।
कात्तिक १०, २०८२ सोमबार ०७:१९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।