अमेरिकासँग एक सय ६ रनले हार्‍यो नेपाली टिम

अमेरिकासँग एक सय ६ रनले हार्‍यो नेपाली टिम

काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो। अमेरिकाले ब्याटिङ गर्दै नेपाललाई २ सय ६३ रनको लक्ष्य दिएको थियो। अमेरिकाको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा समेटियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए। आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २०  तथा सोमपाल कामीले ११  रन बनाए। अमेरिकाका लागि हर्मित सिंहले छ विकेट लिए भने शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए।

अमेरिकाले ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको थियो। अमेरिकाले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २ सय ६२ रनको योगफल बनाएको थियो।

अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाएका थिए। उनले १ सय बलमा नौ चौकाको सहयोगमा ७५ रन बनाएका थिए। मिलन्द कुमारले अविजित रहँदै ७० रन बनाए। उनले ५० बलमा छ चौका र दुई छक्का प्रहार गरेका थिए। सैतेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रन जोडेका थिए।

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिएका थिए।

यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ। 

कात्तिक ९, २०८२ आइतबार २०:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।