३१ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३६ जना कर्मचारीको सरुवा गरेका छन्। आइतबार उनले सहसचिव र प्रमुख जिल्ला अधिकारीहरूसहित ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गराएका हुन्।
आइतबारको निर्णय अनुसार ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन भएको हो।
गृहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबहादुर रायमाझीलाई जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ। जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको रूपमा सरुवा गरियो।
गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरेलाई झापाको प्रजिअमा सरुवा गरियो। झापाका प्रजिअ गोपालकुमार अधिकारीलाई काभ्रेपलान्चोकको प्रजिअमा सरुवा गरिएको छ। गृहका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रजिअमा पदस्थापन गरिएको छ। बर्दियाका प्रजिअ सुरेन्द्र पौडेललाई सिरहामा सरुवा गरिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङको प्रजिअमा सरुवा गरिएको छ भने मोरङका प्रजिअ इन्द्रदेव यादवलाई महोत्तरी पठाइएको छ। गृहको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुरको प्रजिअमा सरुवा गरियो।
ललितपुरका प्रजिअ सुमन घिमिरेलाई कसुरजन्य विभागमा ल्याइएको छ। रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, बर्दिया, जुम्ला, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछामका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ।
यसैगरि गुल्मी, सुनसरी, ललितपुर, भक्तपुर, मोरङ, झापा, काभ्रे, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा, सर्लाही र सिरहाका प्रजिअको सरुवा भएको छ।
कात्तिक ९, २०८२ आइतबार २०:२६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।