आन्दोलनबारे प्रसाईँसँग तीन सिडिओ र प्रहरी प्रमुखको छलफल, आन्दोलन कहिलेबाट भन्ने प्रश्नमा "छोड्नुस् यार" भन्दै बाहिरिए
काठमाडौं : छठपछि आन्दोलन गर्ने घोषणा गरेका दुर्गा प्रसाईँसँग काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले छलफल गरे। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार प्रसाईँसँग तीनै जिल्लाका प्रशासन प्रमुख र प्रहरी प्रमुख बसेर उनको माग र आन्दोलनबारे छलफल गरेका हुन्।
छलफलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले उनले सामाजिक सञ्जाल र केही अन्तर्वार्ताहरूमा दिएको अभिव्यक्ति र आन्दोलनको स्वरूपबारे जिज्ञासा राखेका थिए। प्रसाईँले आन्दोलन त्यस्तो केही हैन भनेर जवाफ दिएको छलफलमा सहभागी एक अधिकारीले बताए।
"उहाँले अहिलेको सरकार संविधान बाहिरबाट बनेको, जेन-जीको माग पुरा नभएको भन्दै आफ्ना मागहरू राख्नुभयो," एक अधिकारीले भने "उहाँले राखेको राजनीतिक मागहरू हामीले पुरा गर्ने कुरा भएन। छलफलमा उठेको विषय गृह मन्त्रालयमा जानकारी गराउँछौ।"
छलफल सकिएपछि प्रसाईँले प्रमुख जिल्ला अधिकारीहरूले बोलाएपछि आफू छलफलमा आएको भन्दै आन्दोलन कहिले देखि हो भनेर जिज्ञासा राखेको र छलफलमा सरकारले वार्ताका लागि औपचारिक पत्र दिए मात्र छलफलमा बस्नेबारे जानकारी गराएको दाबी गरेका थिए।
सञ्चारकर्मीहरूले आन्दोलन कहिलेबाट भनेर सोध्दा उनी "छोड्नुस् यार" भन्दै जिल्ला प्रशासन कार्यालय परिसरबाट बाहिरिएका थिए।
प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल अगाडि आइतबारै प्रसाईँले केही सम्पादकहरूसँग छलफल गरेका थिए। छलफलमा उनले मेचीदेखि महाकालीसम्मको नाका बन्द गर्ने दाबी गरेका थिए। उनले आफ्नो आन्दोलनको अजेण्डा माटो सुहाउँदो व्यवस्था स्थापनाका लागि हुने दाबी गरेका थिए।
कात्तिक ९, २०८२ आइतबार २०:१४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।