दुई स्वास्थ्य सचिवलाई अगाडि राखेर मन्त्री शर्माले भनिन् "स्वास्थ्य सामग्री खरिदमा अनियमितता छ भन्ने कुरा जगजाहेरै हो"

दुई स्वास्थ्य सचिवलाई अगाडि राखेर मन्त्री शर्माले भनिन्

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्यका खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन निर्देशन दिइन्।  मन्त्रीको कार्यभार सुरु गरेपछि मन्त्रालय मातहतका सचिवसहित कर्मचारीहरूलाई निर्देशन दिँदै उनले "कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस्" भन्दै स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन निर्देशन दिएकी हुन्।

"स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा अनियमितता छ भन्ने कुरा जगजाहेरै हो। तर सबै सचिव भ्रष्ट हुन्छन् भन्ने गलत भाष्य हो। हामीमा दुइटा सचिव हुनुहुन्छ। सबैलाई एकै ठाउँमा राख्दा राम्रो काम गर्नेमाथि अन्याय हुन्छ नि" उनले भनिन्।

मन्त्रीले आइतबार  मन्त्रालय अन्तर्गतका शाखा एवं विभागहरूबाट प्रवाह हुने सेवा नागरिकमैत्री बनाउन, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउन र सेवा प्रवाहका क्रममा नागरिकलाई झुलाउने काम नगर्न निर्देशन दिएकी थिइन्।

"कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्। आर्थिक एवं प्रशासनिक रूपमा कुनै पनि गलत काम गर्नु भएन। सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने काम पनि भ्रष्टाचारकै अङ्गहरू हुन्" उनले भनिन्।

आफू स्वास्थ्य सचिवहुँदा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मुख्य चुनौती रहेको भन्दै उनले सचिवको रूपमा प्रशासनिक रूपमा गर्नुपर्ने प्रयास गरेको तर राजनीतिकस्तरमा हुने बदमासी रोक्न नसकेपछि राजीनामा दिएर हिँडेको प्रसङ्ग समेत सुनाएकी थिइन्। उनले सचिवबाट राजीनामा दिँदा राजेन्द्र महतो स्वास्थ्यमन्त्री थिए।

सचिवदेखि विभागसम्मै मिलेमतोका अनुभवी कर्मचारी

मन्त्रालय अन्तर्गत हुने अधिकांश खरिद निश्चित सप्लायर्स कम्पनीको मिलेमतोमा स्पेसिफिकेसन लक्ड गरेर महँगोमा किन्ने प्रवृत्ति रहेको छ। कोरोनाकालदेखि सुरु भएको यो भ्रष्टाचारको खेल अहिलेसम्म पनि कायमै देखिन्छ। मुख्य त स्वास्थ्य सेवा विभाग अन्तर्गत हुने अधिकांश खरिद मिलेमतोमा हुने गरेको देखिन्छ। यो जालो मन्त्रालय मातहत रहेको सङ्घीय अस्पतालसम्म फैलिएको छ।

विभाग प्रमुख रहँदा खरिद मिलेमतो गरेर भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै विभागका पूर्व प्रमुख संगीता मिश्रासहित १४ जनाविरुद्ध १४ करोड बिगो कायम गरेर मुद्दा दायर गरेको थियो।

मन्त्रालयमा प्राविधिक र प्रशासनमा अलग-अलग सचिव हुन्छन्। अहिले प्राविधिकतर्फ विकास देवकोटा सचिव छन्। प्रशासनतर्फ डिल्लीराम शर्मा सचिव छन्।

अहिलेका स्वास्थ्य सचिव विकास देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा अगाडि बढेका अधिकांश खरिद मिलेमतोमा अगाडि बढेको थियो। देवकोटाको बढुवासँगै उनी सचिव भएपछि महानिर्देशक बदलिएर टङ्क प्रसाद बाराकोटी विभाग प्रमुख भएका थिए। अहिले पनि उनी नै विभागमा छन्। बाराकोटी विभाग प्रमुख भएपछि मिलेमतोमा अगाडि बढेका केही खरिद प्रक्रिया रद्द गरेका थिए। 

स्वास्थ्य उपकरण मिलेमतोबारे उकेरामा प्रकाशित समाचार पढ्न क्लिक गर्नुस्

अहिले पनि विभाग अन्तर्गतको खरिद प्रक्रियाको जिम्मेवार महाशाखा र शाखा प्रमुखमा व्यापारीको स्वार्थमा काम गरेका कर्मचारीहरू नै छन्। व्यवस्थापन महाशाखा प्रमुखमा पवनजंग रायमाझी छन्। खरिद इकाई प्रमुखमा दया पन्त छन्। यी दुवै विकास देवकोटा महानिर्देशक हुँदा प्रदीपले विभागमा लगेका थिए।

यी दुवै खरिद मिलेमतोमा प्रत्यक्ष जोडिएका कर्मचारी हुन्। पौडेल मन्त्रीहुँदा विभागले अगाडि बढाएको मिलेमतोको खरिदमा रायमाझी र पन्त प्रत्यक्ष जोडिएका थिए।

विभागको खरिद अनियमिततामा प्रत्यक्ष जोडिएका बायोमेडिकल इन्जिनियर आशिष चौहान भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बित भएका छन्। कानुनमा सीता घिमिरे थिइन्। ठेक्काको बिड डकुमेन्ट बनाउन संलग्न दीपक अधिकारी पनि १४ करोड भ्रष्टाचारमा निलम्बनमा छन्। 

मन्त्रालय अन्तर्गत यस अगाडि भएका खरिदमा भएको भ्रष्टाचारबारे के हुन्छ भनेर उकेराकर्मीले राखेको जिज्ञासामा मन्त्री गौतमले आफू प्रसूति गृहको प्रमुखहुँदा अगाडि बढेको खरिद प्रक्रियाको अनुभव सुनाइन्।

अन्य अस्पतालमा खरिद गर्दाको मूल्यबारे बुझ्दा बढी मूल्य राखेको देखिएपछि सम्बन्धित मेसिन निर्माता कम्पनीसँग सोध्दा कम्पनीले नेपालमा रहेको आफ्नो एजेन्टले नै जानकारी दिने भनेर जवाफ आएको अनुभव सुनाउँदै भनिन्  "मेरो कार्यकालमा स्वास्थ्य मन्त्रालय अन्तर्गत हुने खरिदसहितको काममा हुने भ्रष्टाचार रोक्न इमानदारिताका साथ प्रयास गर्नेछु।" 

कात्तिक ९, २०८२ आइतबार १८:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।