जेन-जी आन्दोलनमा साँखुको प्रहरी कार्यालय जलाउने पक्राउ, ललितपुरको खोला नजिक पेस्तोल फेला पर्‍यो

जेन-जी आन्दोलनमा साँखुको प्रहरी कार्यालय जलाउने पक्राउ, ललितपुरको खोला नजिक पेस्तोल फेला पर्‍यो

काठमाडौं : जेन-जी आन्दोलनको आवरणमा साँखुमा रहेको प्रहरी कार्यालयमा आगो लगाउने र प्रहरी कर्मचारी कुट्न संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले मकवानपुर मकवानपुरगढी घर भई अहिले काठमाडौंको शंखरापुरमा बस्ने ४३ वर्षका प्रह्लाद दाहाल र शंखरापुरका ४७ वर्षका सानुकान्छा वाइबालाई पक्राउ गरेको हो।

प्रहरी कार्यालयमा आगो लगाउने र प्रहरी कर्मचारी कुट्ने व्यक्तिबारे सिसिटिभी फुटेजमा देखिएका व्यक्तिहरू खोज्नेक्रममा यी दुवै आइतबार फेला परेका हुन्। दुवै जनालाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ।

बौद्धले नै जेन-जी आन्दोलनकोक्रममा प्रहरीबाट लुटिएको हतकडीसहित बालाजु बस्ने २९ वर्षका साजन श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनको साथबाट लुटिएको हतकडी र त्यसको चाबी समेत बरामद गरेको जानकारी दिएको छ।

उता आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकाको टिकाथलीमा रहेको राधाकृष्ण खानेपानी ट्याङ्की नजिकै ५४ टाइपको चाइनिज पेस्तोल र ३ राउन्ड गोली लोड भएको म्यागजिन फेला पारेको छ। हतियार रहेको सूचनाको आधारमा गएको टोलीले ती हतियार फेला पारेको हो।

कात्तिक ९, २०८२ आइतबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।