स्वास्थ्यमन्त्री सुधाको पहिलो निर्णय : जेन–जी आन्दोलनका घाइतेलाई मनोपरामर्श दिन अभियान चलाउने

स्वास्थ्यमन्त्री सुधाको पहिलो निर्णय : जेन–जी आन्दोलनका घाइतेलाई मनोपरामर्श दिन अभियान चलाउने

काठमाडौं : नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श दिने अभियान सञ्चालन गर्ने निर्णय गरिन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा मन्त्रीको कार्यभार सुरु गर्दै उनले पहिलो निर्णय परामर्श सम्बन्धी गरेकी हुन्।

जेन-जी आन्दोलनकोक्रममा स्वास्थ्य मन्त्रालयको भवन पुरै जलेर नष्ट भएकाले परिषदको नयाँ भवनमा मन्त्रीको कार्यालय बनाइएको थियो। उनी त्यहीँ गएर कार्यभार सुरु गरेकी थिइन्। उनी पूर्व स्वास्थ्य सचिव हुन्। यस अगाडि संगीता मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन सिफारिस गरेकोमा उनको भ्रष्ट पृष्ठभूमि सार्वजनिक भएसँगै उनको शपथ रोकिएको थियो।

अन्तरिम सरकार तेस्रो पटक विस्तार गर्दा उनी स्वास्थ्यमन्त्रीमा नियुक्त भएकी हुन्। उनीसँगै आइतबार बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीमा  नियुक्त भएका थिए। आइतबार चार जनाको शपथ गराउन प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा नाम पठाए पनि विवादित पृष्ठभूमिका कारण खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको भने शपथ भएन।

खगेन्द्र गम्भीर अपराधमा अदालतबाट पक्राउ आदेश जारी भएका फरार अभियुक्त रहेको खुलेपछि उनको शपथ रोकियो। गणपतीलालविरुद्ध पनि जग्गा सम्बन्धी मुद्दा विचाराधीन रहेको खुलेपछि उनको पनि शपथ रोकियो। बब्लु भ्रष्ट छविका विवादित चोलेन्द्र शमशेरको पक्षमा आन्दोलन चलाउने ब्यक्ती रहेको खुले पनि उनको शपथ भने रोकिएन।

कात्तिक ९, २०८२ आइतबार १७:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।