चोलेन्द्रको पक्षमा आन्दोलन गर्दै नेपाल बारको धर्ना भाँडेका थिए मन्त्रीमा सिफारिस बब्लुले

चोलेन्द्रको पक्षमा आन्दोलन गर्दै नेपाल बारको धर्ना भाँडेका थिए मन्त्रीमा सिफारिस बब्लुले

‘हन्ड्रेड ग्रुप’ मार्फत सामाजिक गतिविधिमा संलग्न बब्लु गुप्ताले विवादित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्षमा युवाहरू बटुलेर आन्दोलन गरेको खुलेको छ। सुशीला कार्कीले उनलाई युवा तथा खेलकुद मन्त्रीमा सिफारिस गरेकी छिन्।

चोलेन्द्रको राजीनामा माग्दै नेपाल बार एसोसिएसनका पदाधिकारीहरू सर्वोच्चमा धर्नामा बसेका थिए। त्यो बेलामा सर्वोच्च अदालत खुल्ला गर् भन्दै बब्लु मोटरसाइकलमा युवाहरू लिएर सर्वोच्च अगाडि पुगेर बारको धर्ना बिथोलेका थिए। त्यसमा साजन विक पनि सहभागी थिए।

राणाविरुद्ध विभिन्न २१ आरोप लगाउँदै तत्कालिन सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए।

राणामाथि लागेका आरोपमाथि अनुसन्धान गर्न बनेको महाभियोग सिफारिस समितिले महाभियोग लगाउन सिफारिस गरे पनि प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनसम्म प्रतिवेदन दिन नसक्दा संसद्ले महाभियोग प्रस्ताव टुंगोमा पुर्याउन सकेको थिएन। संसदको अवधी सकिएसँगै महाअभियोग निस्क्रिय रहेको भन्दै राणा सर्वोच्च फर्कने तयारीमा लागेपछि उनलाई रोक्न बारका पदाधिकारी र वकिलहरु सर्वोच्चको गेटमा धर्नामा बसेका थिए। बब्लुको समूह धर्ना भाँडेर चोलेन्द्रलाई सर्वोच्चमा प्रवेश गराउन सक्रिय भएका थिए।

चोलेन्द्रको पक्षमा नारावाजी गर्दै बब्लु।आन्दोलनको समयमा बब्लुले नेतृत्व गरेको र आफूहरू सर्वोच्च अदालत खुल्ला गराउने पक्षमा आन्दोलनमा उत्रिएको भन्दै उनले बोलेको भिडियोहरू अहिले पनि सहजै फेला पार्न सकिन्छ। उनीमाथि चोलेन्द्रसँग पैसा लिएर त्यो बेलामा आन्दोलन गरेको आरोप लागेको थियो। तर उनले आफ्नो समूहका लागि डेढ दुई लाखको अभाव नहुने भन्दै अदालत खुल्ला हुनुपर्ने मागसहित आन्दोलन गरेको दाबी गरेका थिए।

कोरोनाकालमा निःशुल्क खाना वितरण गरेका उनी भाडाका आन्दोलनकारीको रूपमा समेत परिचित छन्। उनी चोलेन्द्र शमशेर राणाविरुद्ध कानुन व्यवसायी आन्दोलितहुँदा राणाको पक्षमा आन्दोलनमा सहभागी थिए।

उनी मोटरसाइकलमा युवाहरू लिएर राणाको पक्षमा नाराबाजी गर्न गएका थिए। उनीहरूलाई सुरक्षाकर्मीले तितरबितर गरेको थियो। चोलेन्द्रको पक्षमा सर्वोच्च अगाडि नाराबाजी गर्नेमा गुप्ता र तारा बराल समूह थियो। प्रहरीले गुप्ता समूहका ९ जना र तारा बराललगायत अर्को समूहका ८ जनालाई नियन्त्रणमा लिएको थियो। 

कुलमानको पक्षमा आन्दोलन गर्दा पक्राउ परेका बब्लु।कुलमानलाई हटाउने सरकारको निर्णय विरुद्ध पनि उनी आन्दोलनमा उत्रिएका थिए। कुलमानको पक्षमा आन्दोलन गर्न ७०/८० जनाको सङ्ख्यामा मोटरसाइकलमा गइरहेका उनलाई प्रहरीले कुटपिट गर्दै नियन्त्रणमा लिएको थियो। प्रहरीले  बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा लगायतलाई नियन्त्रणमा लिएको थियो। 

बालेन शाह र कुलमान घिसिङ निकट उनी आर्थिक पारदर्शिता र शङ्कास्पद गतिविधिले विवादमा आइरहने पात्र हुन्।

कात्तिक ९, २०८२ आइतबार १४:३३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।