मन्त्रीमा सिफारिस सुनार अदालतको सूचीमा ‘फरार’ खुलेसँगै छलफलमा प्रधानमन्त्री
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस खगेन्द्र सुनार अदालतबाट पक्राउ आदेश जारी भएका फरार सूचीका भएको सार्वजनिक भएसँगै प्रधानमन्त्री सुशीला कार्की उनलाई मन्त्रीको शपथ खुवाउने वा नखुवाउनेबारे छलफलमा जुटेकी छिन्।
खगेन्द्रलाई मन्त्री बनाउन कार्कीले नाम सिफारिस गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएकी थिइन्। उनीसहित चार जनाको नाम सिफारिस गर्दै आजै शपथ खुवाउने तयारी गरिएको थियो। तर उनी अस्पताल तोडफोड र चिकित्सकमाथि हातपातसँगै साइबर अपराध, अदालतको मानहानि लगायतका अपराधको अभियुक्त रहेको र सबै मुद्धाहरु विचाराधीन रहेको सार्वजनिक भएको छ।
सुनारको विवादित पृष्ठभूमि प्रमाणसहित सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले तत्काल शपथको कार्यक्रम लम्ब्याएर आफ्नो टिमसँग छलफलमा जुटेकी छिन्।
“प्रधानमन्त्री छलफलमा हुनुहुन्छ भन्नेसम्म सूचना आयो। तर शपथ नगराउने भन्ने आधिकारिक पत्र आएको छैन” राष्ट्रपति कार्यालय स्रोतले भन्यो।
यस अगाडि स्वास्थ्यमन्त्रीमा संगीता मिश्राको नाम राष्ट्रपति कार्यालयमा पुगे पनि उनको भ्रष्ट पृष्ठभूमि सार्वजनिक भएसँगै उनको नाम काटेर अन्यको नियुक्ति भएको थियो। मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ।
गुप्ताको पृष्ठभूमि पनि विवादित
बब्लु गुप्ता ‘हन्ड्रेड ग्रुप’ मार्फत सामाजिक गतिविधिमा संलग्न छन्। कोरोनाकालमा निःशुल्क खाना वितरण गरेका उनी भाडाका आन्दोलनकारीको रूपमा समेत परिचित छन्। उनी चोलेन्द्र शमसेर राणाविरुद्ध कानुन व्यवसायी आन्दोलितहुँदा राणाको पक्षमा आन्दोलनमा सहभागी थिए।
उनी मोटरसाइकलमा युवाहरू लिएर राणाको पक्षमा नाराबाजी गर्न गएका थिए। उनीहरुलाई सुरक्षाकर्मीले तितरबितर गरेको थियो। चोलेन्द्रको पक्षमा सर्वोच्च अगाडि नाराबाजी गर्नेमा गुप्ता र तारा बराल समूह थियो। प्रहरीले गुप्ता समूहका ९ जना र तारा बराललगायत अर्को समूहका ८ जनालाई नियन्त्रणमा लिएको थियो।
उनले आफ्ना समर्थक लगेर कानुन व्यवसायीहरूको धर्ना बिथोलेका थिए। कुलमानलाई हटाउने सरकारको निर्णय विरुद्ध पनि उनी आन्दोलनमा उत्रिएका थिए। कुलमानको पक्षमा आन्दोलन गर्न ७०/८० जनाको संख्यामा मोटरसाइकलमा गइरहेका उनलाई प्रहरीले कुटपिट गर्दै नियन्त्रणमा लिएको थियो। प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा लगायतलाई नियन्त्रणमा लिएको थियो।
बालेन शाह र कुलमान घिसिङ निकट उनी आर्थिक पारदर्शिता र शङ्कास्पद गतिविधिले विवादमा आइरहने पात्र हुन्।
कात्तिक ९, २०८२ आइतबार १४:०३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।