क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाबाट आयात हुने सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन्। यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिकारस्वरूप आएको हो।

उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको सन् १९८७ को सम्बोधनका अंश प्रयोग गरिएको थियो, जसमा रेगनले विदेशी सामानमा उच्च भन्सार शुल्क लगाउँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएका थिए।

राष्ट्रपति ट्रम्पले उक्त विज्ञापनलाई ‘नक्कली र भ्रामक’ भन्दै क्यानाडासँगका सबै व्यापार वार्ता दुई दिनअघि नै स्थगित गरेको बताएका छन्।

“उनीहरूले त्यो विज्ञापन तुरुन्तै हटाउनुपर्ने थियो,” ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखे, “तर उनीहरूले त्यो विश्व शृङ्खलाको प्रसारणका क्रममा पनि चलाए। यस्तो ठगी र तथ्यको गलत प्रस्तुतीकरणको कारण म क्यानाडामाथि हाल तिर्दै आएको करमा थप १० प्रतिशत वृद्धि गर्ने आदेश दिन्छु।”

विवादित विज्ञापन ओन्टारियो प्रान्तबाट प्रसारण गरिएको थियो, जसमा रेगनको अडियो र भिडियो ‘चयनात्मक रूपमा सम्पादन गरिएको’ आरोप लागिरहेको छ। रोनाल्ड रेगन फाउन्डेसनले यसलाई “ऐतिहासिक सन्दर्भको तोडमोड” भन्दै कानूनी कदमको तयारी भइरहेको जनाएको छ।

विज्ञापन विवादकै बीच क्यानाडाको टोरन्टो ब्लू जेस र अमेरिकी लस एन्जलस डोजर्सबीच बेसबल विश्व शृङ्खला जारी छ। पहिलो खेलमा ब्लू जेसले डोजर्सलाई ११–४ ले हराएको थियो। तर दोस्रो खेलको प्रसारणका बेला विवादित विज्ञापन पुनः देखिएपछि वाशिङ्टनले कठोर प्रतिक्रिया जनाएको हो।

ओन्टारियो सरकारले सोमबार उक्त विज्ञापन फिर्ता लिने र व्यापार वार्ता पुनः सुरु गर्ने तयारी जनाएको थियो, तर शनिबार राति विज्ञापन पुनः प्रसारण भएपछि स्थिति फेरि तनावपूर्ण बनेको छ।

ट्रम्प प्रशासनले यसअघि पनि स्टिल, एल्युमिनियम र अटो उद्योगमा कर वृद्धि गर्दै क्यानाडाको अर्थतन्त्रमा दबाब सिर्जना गरेको थियो। यी नीतिका कारण क्यानाडामा रोजगारी र निर्यात दुबै प्रभावित भएका छन्।

हाल अमेरिका र क्यानाडा युएसएमसिए व्यापार सम्झौताअनुसार व्यापार गरिरहेका छन्, जसले करिब ८५ प्रतिशत सीमापार व्यापार करमुक्त बनाएको छ। तर बुधबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी भन्सार नीति ‘ग्रेट डिप्रेसनपछि सबैभन्दा कठोर’ भएको टिप्पणी गरेका थिए।

उनका शब्दमा, “हामीलाई आर्थिक रणनीति नाटकीय रूपमा परिवर्तन गर्नु अपरिहार्य बनेको छ, जसका लागि समय र त्याग दुवै आवश्यक छन्।”

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री कार्नी दुवै आगामी बुधबार दक्षिण कोरियामा हुने एपेक सम्मेलनमा सहभागी हुनेछन्। तर ट्रम्पले कार्नीलाई भेट्ने कुनै योजना नभएको स्पष्ट गरेका छन्।

कात्तिक ९, २०८२ आइतबार १३:४८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।