दुर्गा प्रसाईंको दाबी- म कसैको इसारामा चल्ने मान्छे होइन
काठमाडौं : ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनःस्थापनाको पक्षमा सक्रिय रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू आवश्यक परे देश छोड्न तयार भएको बताएका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेपाल संकटमा रहेको दाबी गर्दै भने, ‘म देश जोगाउन लागेको मान्छे हुँ। तर, यदि यो देश कसैले जोगाउँछ भने म देश छाड्न तयार छु।’
उनले आफू कसैको इसारामा चल्ने मान्छे नभएको दाबी समेत गरे। उनले थपे, “म कसैको इसारामा चल्ने मान्छे होइन। म नेपाल र नेपालीको हितका लागि मेरो क्षमताले भ्याएसम्म काम गरिरहेको छु। तर यदि तपाईंहरूले भन्नुभयो भने ‘देश छोडेर जा’, म जान्छु। केवल नेपाल बचाइयोस्, विदेश गएका नेपाली फर्किने वातावरण बनोस्।”
प्रसाईंले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै भने, “म २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको हुँ। जानेर वा नजानेर जेजे भयो, अब सुधार गरेर देश बनाउन लाग्नुपर्छ।”
उनले सबै दल र नेताहरूलाई आत्मसमिक्षा गर्न आग्रह गर्दै भने, “हिजो जे भयो–भयो, बाटो हामी सबैले बिर्सियौँ। अब कम्तीमा पनि देश जोगाऔँ। नेपाल भुंग्रोमा गयो, त्यसलाई उठाएर न्यानो ठाउँमा पुर्याऔँ। मानिसले न्यानोपन खोजेको छ, अब हामीले सुध्रिनु पर्छ।”
कात्तिक ९, २०८२ आइतबार १२:५२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।