मन्त्री बन्दै गरेकाको पृष्ठभूमी : स्वास्थ्य संस्था तोडफोडका अभियुक्तदेखि पूर्व सचिवसम्म
काठमाडौं : तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले चार जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी छिन्।
राष्ट्रपति कार्यालयमा सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्री, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्न सिफारिस गरिएको छ।
मन्त्रिमा सिफारिस दुई जना निजामती अनुभव र सम्पदा संरक्षणमा सक्रिय हुन्। दुई जना जेनजी र दलित अधिकारको पक्षमा सक्रिय हुन्।
डा सुधा पहिलो महिला स्वास्थ्य सचिव हुन्। प्रसूति तथा स्त्री रोग विशेषज्ञ रहेकी उनले तत्कालीन स्वास्थ्य मन्त्रीसँगको विवादपछि कार्यकाल सकिनु अगाडि नै राजीनामा दिएकी थिइन्।
गणपतिलाल सम्पदा संरक्षणमा सक्रिय अभियन्ता हुन्। उनी विभिन्न क्षेत्रमा रहेका सम्पदास्थलको अनुगमन गरेर त्यसको अवस्था सार्वजनिक गर्दै संरक्षणमा दबाब दिन सक्रिय छन्।
बब्लु गुप्ता ‘हन्ड्रेड ग्रुप’ मार्फत सामाजिक गतिविधिमा संलग्न छन्। कोरोनाकालमा निःशुल्क खाना वितरण गरेका उनी भाडाका आन्दोलनकारीको रूपमा समेत परिचित छन्। उनी चोलेन्द्र शमसेर राणाविरुद्ध कानुन व्यवसायी आन्दोलितहुँदा राणाको पक्षमा आन्दोलनमा सहभागी थिए।
उनले आफ्ना समर्थक लगेर कानुन व्यवसायीहरुको धर्ना विथोलेका थिए। कुलमानलाई हटाउने सरकारको निर्णय विरुद्ध पनि उनी आन्दोलनमा उत्रिएका थिए।
बालेन शाह र कुलमान घिसिङ निकट उनी आर्थिक पारदर्शिता र शङ्कास्पद गतिविधिले विवादमा आइरहने पात्र हुन्।
पत्रकार, कलाकार हुँदै दलित अधिकार अभियन्ता बनेका खगेन्द्र सुनार शरिरमा सिक्री लगाएर माइतीघर मन्डलाबाट आन्दोलन शुरू गरेर चर्चामा आएका व्यक्ति हुन्। नवराज विकको हत्या घटनापछि उनी दलित अभियानमा जोडिएका हुन्।
पछिल्लो समय एक महिला कानुन व्यवसायीको चरित्रहत्या गर्दै सामाजिक सञ्जालमा लेख्दा उनी विवादमा परेका थिए। उनले पेशागत काम गरेको आधारमा ती कानुन व्यवसायीमाथि तल्लो तहको टिप्पणी गरेका थिए।
स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै खगेन्द्रविरूद्ध मुद्दा समेत दायर भएको छ। जिल्ला अदालत सुर्खेतमा दायर मुद्दामा उनीविरूद्ध पक्राउ आदेश जारी भए पनि उनी फरार सूचीमा देखिन्छन्।
उनी विरुद्ध जिल्ला अदालत काभ्रेमा समेत विद्धुतिय कारोबारसम्बन्धी मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी विरुद्ध अदालतको मानहानि गरेको मुद्दा समेत चलिरहेको छ।

कात्तिक ९, २०८२ आइतबार १२:२०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।