तालतलैयामा बढ्यो पाहुना चराको चहलपहल

तालतलैयामा बढ्यो पाहुना चराको चहलपहल

कञ्चनपुर : जाडो छल्नका लागि उत्तर गोलाद्र्धका हिमाली क्षेत्रहरूबाट उड्दै आएका पाहुना चराहरू कञ्चनपुर–कैलालीका सीमसार, नदी तथा तालतलैयामा पुग्न थालेका छन्।

साइवेरिया, कीर्गिस्तान, उत्तरी चीन, तिब्बत र मङ्गोलियाजस्ता स्थानबाट लामो दूरी तय गरेर आएको यी हिउँदे पाहुना चराले तालतलैया र सीमसार क्षेत्रको वातावरणमा चहलपहल बढाएको छ।

नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार, “उत्तर गोलाद्र्धमा अत्यधिक चिसो बढ्दा यी चराहरू जाडो छल्न यहाँका तालतलैयामा बसाइँ सरेर आउने गरेका छन्। प्रत्येक वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालतलैया र त्यसको वरिपरि रहेका नदी, सीमसार क्षेत्रमा चराको आगमन हुने गर्दछ।”

डगौराका अनुसार कञ्चनपुरको पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल, महाकाली र चौधर नदी, साथै कैलालीको घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, कर्णाली नदी र डडेल्धुराको आलितालमा चराको आगमन सुरु भइसकेको छ। बसाइँ सारेर आउनेमा प्रायः हाँस प्रजातिका चरासँगै अन्य जलपन्छी र फिस्टे चराहरू पनि देखिने गर्छन्।

तालतलैया, नदी र सीमसार क्षेत्रमा मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैले टाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे र ट्याकट्याकेलगायत प्रजाति देखा पर्ने गरेको डगौराले बताए।

नेपालमा प्रत्येक वर्ष करिब १०० भन्दा बढी प्रजातिका चराहरू जाडो छल्नका लागि बसाइँ सरेर आउने गरेका छन्। जसमा आधाभन्दा बढी हाँस प्रजातिका हुने गरेका छन्। कञ्चनपुर र कैलालीका तालतलैयामा मात्रै करिब ३०–५० प्रजातिका हिउँदे पाहुना चराहरू नियमित रूपमा आउने गर्छन्।

तर पछिल्ला केही वर्षमा बसाइँ सर्ने चराको सङ्ख्या घट्दो क्रममा रहेको डगौराले बताए। सीमसार क्षेत्रमा मानव अतिक्रमण र माछापालनका गतिविधिले प्राकृतिक आवासमा असर पुर्याउँदा चराको सङ्ख्यामा गिरावट आएको उनको भनाइ छ।

डगौराका अनुसार, दीर्घकालीन संरक्षणका लागि सीमसार क्षेत्रको व्यवस्थापन, स्थानीय समुदायको सहभागिता र जनचेतना अभिवृद्धि आवश्यक छ।

कात्तिक ९, २०८२ आइतबार १२:०६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।