सुरज पण्डित जसले पुर्ख्यौली पेशालाई व्यवसायमा रूपान्तरण गरे
धरान : सुनसरीको इटहरी उपमहानगरपालिका-६ का सुरज पण्डित बिहान सबेरै उठ्छन्। घाम चर्किन नपाउँदै उनले हातमा माटो समाउँछन्, पानी मिसाउँछन् र आफ्नै ढङ्गले त्यसलाई साँचोमा हालेर थिच्न थाल्छन्। यही माटोले उनको परिवारलाई रोजगारी, सन्तोष र आत्मनिर्भरता दिएको छ।
सुरजको घरमा आज पनि भट्टी बल्छ, हातले घुमाइने चर्को चक्र घुम्छ अनि घुम्छ सँगै घुमिरहेको छ माटोका भाँडाकुँडा बनाउने यो परिवारको पुर्ख्यौली पेशा। ‘हाम्रा जिजुबाजेले पनि यही पेशा गर्नुहुन्थ्यो। अहिले हामीले यही परम्परालाई निरन्तरता दिएका हौँ। हाम्रो घरखर्च यही माटोले चलाएको हो,’ सुरजले भने।
हराउँदै गएको तर बाँचिरहेको पेशा
पछिल्लो समयमा गाउँदेखि सहरसम्म प्लास्टिकका सामानले ठाउँ लिँदै गए पनि सुरजको लगाव माटोप्रति कहिल्यै घटेको छैन। इनरुवास्थित आफ्नै आरन (कारखाना) मा उनी भाँडाकुँडा बनाउँछन्, र त्यसपछि इटहरी बजारमा ल्याएर बिक्री गर्छन्। व्यापारीहरू आरनमै पुगेर पनि खरिद गर्छन्।
तर माटो पाउन सजिलो छैन। उनी सम्झन्छन्, ‘पहिले विराटनगर र बर्जुतालबाट माटो ल्याइन्थ्यो। अहिले भने सुनसरी र मोरङका विभिन्न ठाउँमा गएर खरिद गर्नुपर्छ।’
एक ट्रयाक्टर माटो किन्न १२ हजारदेखि १८ हजार रुपैयाँ पर्छ। त्यसै माटोबाट उनी करिब डेढ लाख बराबरका भाँडाकुँडा बनाउँछन्, जसबाट खर्च कटाएर पनि मासिक एक लाखभन्दा बढी कमाइ हुन्छ।
माटोको भाँडा, आधुनिक बजार
सुरज अहिले दियो, कलश, गमला, फूलदानी, दही जमाउने भाँडा, रक्सी पार्ने पैनि, तन्दुरी बनाउने भाँडा, फिल्टर, खुत्रुके, गिलास जस्ता एक सयभन्दा बढी प्रकारका माटोका सामान बनाउँछन्। ‘पहिले गाउँगाउँ बोकेर बेच्नुपर्थ्यो,’ उनी हाँस्दै भन्छन्, ‘अब व्यापारी नै घरमा आउँछन्।’
उनले बनाएका सामान झापा, मोरङ, इलाम, पाँचथर, धनकुटा, फिदिम, खादबारी र भोजपुरसम्म पुग्छन्। बजारमा दुई हजारदेखि आठ हजारसम्मका भाँडा बिक्री हुन्छन्।
छठपर्वको बेला उनले सबैभन्दा धेरै काम पाउँछन्। ‘छठ सुरु भएपछि दियो र कलशको माग निकै बढ्छ,’ उनी भन्छन्, ‘त्यो बेला आम्दानी पनि एक लाख ७० हजारदेखि १ लाख ८० हजार पुग्छ।’
रामधुनी नगरपालिका-१ झुम्काका नवराज शाह पनि त्यस्तै पथमा लागेका कुम्हार हुन्। उनी भन्छन्, ‘माटोका भाँडा जन्मदेखि मृत्युसम्म प्रयोग हुन्छ। तर यो पेशा हराउँदै गएको छ, त्यसैले हामीले यसको संरक्षण गर्नुपर्छ।’ नवराजले चार वर्षदेखि व्यापार थालेका छन् र अहिले मासिक ४०-५० हजार रुपैयाँ कमाउँछन्।
माटोसँगको सम्बन्ध
सुरज पण्डितका हातहरू माटोले पुरै ढाकिएका हुन्छन्, तर त्यो माटोले उनको मुटुमा गर्व र आत्मविश्वास भरिदिन्छ। आधुनिक बजारमा पनि उनले पुर्ख्यौली सीपलाई हराउन दिएका छैनन्। ‘माटोको सुगन्धमा हाम्रो पहिचान छ,’ उनी भन्छन्, यो पेशा मरेको होइन, अझै बाँचेको छ। यो पेशा हाम्रै हातमा छ।’
आज सुरज र शाहजस्ता सैयौँ कुम्हारहरू पुरानो परम्परालाई नयाँ बजारसँग जोड्दै छन्।
कात्तिक ९, २०८२ आइतबार ११:०१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।