युवापुस्ताको पहिलो रोजाइको पर्यटकिय गन्तव्य बन्यो अन्नपूर्ण आधार शिविर
म्याग्दी : आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको अन्नपूर्ण आधार शिविर अहिले युवापुस्ताको पहिलो रोजाइमा परेको छ। समुद्री सतहदेखि ४,१५० मिटर उचाइमा रहेको यो गन्तव्य छोटो दूरीमै पदयात्राबाट सहजै पुग्न सकिने भएकाले देशी–विदेशी पर्यटकको आकर्षण बढेको हो।
अन्नपूर्ण गाउँपालिका–४ म्याग्दीमा पर्ने यो आधार शिविर पदमार्ग, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक गतिविधिका कारण नयाँ पर्यटन केन्द्रको रूपमा विकसित भएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए। उनले भने, “अन्नपूर्ण आधार शिविर म्याग्दीमै पर्ने तथ्य स्थापित भएपछि र नयाँ पदमार्ग बनेपछि यो शरदयाममा पर्यटकको संख्याले हाम्रा अपेक्षा नाघेको छ। युवापुस्ताले यो गन्तव्यलाई ‘हट स्पट’ बनाएका छन्।”
दसैंपछि दैनिक दुई सयदेखि पाँच सयसम्म पर्यटक पुग्ने गरेको अध्यक्ष पुनको भनाइ छ। केही वर्षअघिसम्म वसन्त याममा मात्रै हेलिकप्टरमार्फत आरोही पुग्ने यो स्थान अहिले पदयात्राका लागि खुला गन्तव्य बनेको छ। पदमार्गमा रहेका होटलहरूमा पाहुना अटाउने ठाउँ नपुग्दा टेन्ट र पालमुनि बस्नुपर्ने अवस्था आएको व्यवसायीहरूले बताएका छन्।
नयाँ पदमार्ग र दृश्य सौन्दर्य
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म २२ किलोमिटरको आधारभूत पदमार्ग तयार गरिएको छ। दुई दिनको पदयात्रामा पुगिने यो स्थानलाई ‘भर्जिन डेस्टिनेसन’ का रूपमा पथप्रदर्शक लाक्पा आङवु शेर्पाले वर्णन गरे।
मिस्त्रीखोला किनारको बाटो हुँदै झरना, हिमशृङ्खला, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्दै यात्रा अघि बढ्छ। तेस्रो दिन फर्किन सकिने यो यात्रा छोटो भए पनि अत्यन्त रोमाञ्चक मानिन्छ।
ऐतिहासिक पृष्ठभूमि
सन् १९५० मा फ्रान्सका मौरिस हर्जोग र लुइस लचेनलको टोलीले अन्नपूर्णको पहिलो आरोहण गरेपछि तीन वर्षपछि मात्र सगरमाथा चढिएको थियो। त्यसैले अन्नपूर्णलाई ‘पहिलो आठहजारिया आरोहण’ को इतिहास बोकेको ‘जेठो हिमाल’ भनिन्छ।
२०६८ सालमा नारच्याङका तेज गुरुङको नेतृत्वमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने प्रमाणित भएको थियो। सो पदमार्गलाई २०७७ सालमा ‘मौरिस हर्जोग पदमार्ग’ नाम दिइएको हो।
ताल, हिमाल र संग्रहालय
नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड ताल (४,०५० मिटर) अन्नपूर्ण हिमालको हिउँ पग्लिएर बनेको प्राकृतिक ताल हो। करिब एक लाख सात हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल र वरिपरिका हिमशृङ्खलाले आधार शिविरलाई अझ मोहक बनाएको छ।
यहाँ फ्रान्सेली आरोही हर्जोग, लुइस लचेनल र सोनाम वालुङ शेर्पाको सालिक, साथै अन्नपूर्ण आरोहण गरेका पाँच सय ३६ जनाको नामसहितको ताम्रपत्र राखिएको खुला सङ्ग्रहालय पनि छ।
पूर्वाधार र चुनौती
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत पर्ने भएकाले स्थायी संरचना बनाउन सरकारी अनुमति आवश्यक पर्छ। हाल अस्थायी होटल, आश्रयस्थल, शौचालय र खानेपानीको व्यवस्था गरिएको छ। तर हुमखोलामाथि सञ्चार र विद्युत् सेवा नहुँदा व्यवस्थापन चुनौती बनेको छ।
होटल व्यवसायी माइकल पुनका अनुसार, “एक्यापले ५० पाहुना बस्न सक्ने अनुमति दिएको छ, तर अहिले चार–पाँच गुणा बढी पाहुना आइरहेका छन्। टेन्ट र पालमुनि बस्नुपर्ने अवस्था छ।”
फोहर व्यवस्थापन, झोलुङ्गे पुलको स्तरोन्नति र सञ्चार सेवा विस्तार अहिलेको प्राथमिक आवश्यकता भएको स्थानीयहरूले बताएका छन्।
सरकारी ध्यानाकर्षण
हालै अन्नपूर्ण आधार शिविर भ्रमणबाट फर्किएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भने, “छोटो दूरी र सहज पहुँचका कारण यो गन्तव्यमा ठूलो सम्भावना छ। अब सञ्चार, विद्युत्, पदमार्ग र फोहर व्यवस्थापनमा सरकारले लगानी गर्नुपर्छ।”
उनी भन्छन्, “अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताललाई अन्तर्राष्ट्रिय स्तरको पदयात्रा केन्द्र बनाउन प्रदेश र संघीय सरकारले समन्वयात्मक भूमिका खेल्ने बेला आएको छ।”
कात्तिक ९, २०८२ आइतबार १०:०३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।