छठ पर्वको दोस्रो दिन आज ‘खरना’ : श्रद्धा, निष्ठा र आत्मशुद्धिको प्रतीक

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ : श्रद्धा, निष्ठा र आत्मशुद्धिको प्रतीक

महोत्तरी : लोकआस्था र सूर्योपासनाको पर्व छठ आज दोस्रो दिन ‘खरना’ विधिसहित मनाइँदै छ। शनिबार ‘नहाय–खाय’ विधिबाट पर्वको शुभारम्भ गरेका बर्तालुहरू आज दिनभर निराहार उपवास बसेर राति छठी माताको आराधना गर्दै ‘खरना’ सम्पन्न गर्न तयारीमा छन्।

परम्पराअनुसार बर्तालुले आज बिहान सूर्योदयअघि पवित्र स्नान गरी दिनभर पानीसम्म नखाई उपवास बस्छन्। साँझपख चन्द्रदर्शन गरेपछि माटाको नयाँ चुल्होमा दूध, सक्खर र चामलको खिर पकाई केराको पातमा राखेर कूलदेवता र छठी देवीलाई अर्पण गरिन्छ। त्यसपछि बर्तालुहरूले यही खिर प्रसादस्वरूप ग्रहण गर्छन्। मिथिलामा यो विधिलाई ‘खरना’ भनिन्छ।

मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार, “खरना आत्मशुद्धि, स्वधर्म र पाप नाशको प्रतीक हो। यस दिन बर्तालुले संयम, श्रद्धा र आत्मसंयमको अभ्यास गर्छन्।”

छठ पर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ गरिन्छ। त्यस दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल र सागपातबाट बनेको परिकार मात्र खाने र लसुन–प्याज जस्ता तामसिक सामग्री त्याग्ने चलन छ। मैथिली भाषामा यो दिनलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ।

छठ पर्वको मुख्य विधि भने भोलि, कात्तिक शुक्ल षष्ठीका दिन हुनेछ। त्यस दिन बर्तालुले निराहार व्रत बसेर साँझ जलाशयमा स्नान गरी अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ। त्यसपछि सप्तमीका बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्वको समापन गरिन्छ, जसलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

‘खरना’को रातमा खाएको खिरपछि नै बर्तालुले निराहार व्रत सुरु गर्छन्, जुन निरन्तर ३६ घण्टासम्म चल्छ। श्रद्धा, निष्ठा र आत्मसंयममा आधारित यो पर्व मधेसदेखि देशका विभिन्न भू–भागसम्म समान उत्साहका साथ मनाइँदै आएको छ।

छठका प्रसाद ठकुवा, भुसुवा, र अन्य मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको पिठोबाट बनाइन्छ। यस्ता परिकार इष्ट–मित्र र आफन्तलाई घरमै बोलाएर ख्वाउने वा उनीहरूकहाँ पुर्याउने मैथिल परम्परा अझै जीवित छ। अघ्र्य दिने पवित्र घाटहरूमा सरसफाइ र आकर्षक सजावटको विशेष ध्यान दिइन्छ।

केही दशकअघिसम्म मधेसी समुदायमा सीमित यो पर्व आज राष्ट्रिय उत्सवको रूप लिन थालेको छ। पर्वते मूलका हिन्दूदेखि अन्य धर्मावलम्बीसमेत श्रद्धा र उल्लासका साथ सहभागी हुने परम्परा बढ्दै गएको छ।

रामनन्दन महेन्द्र विश्वेश्वर क्याम्पस, जलेश्वरका प्राचार्य अजयकुमार झाले भने, “छठ अब केवल मधेसको पर्व होइन, साझा नेपाली संस्कृतिको प्रतीक बनेको छ- जसले भक्ति, अनुशासन र एकताको सन्देश दिन्छ।”

कात्तिक ९, २०८२ आइतबार ०८:२५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।