भरिभराउ छ पोखरा : लामो बिदाले बढायो आन्तरिक पर्यटन

भरिभराउ छ पोखरा : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा : केही महिनादेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्र यतिबेला पुनःजीवित बनेको छ। दसैँ–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखरामा आन्तरिक र विदेशी पर्यटकको चहलपहल एकाएक बढेको हो।

लेकसाइडदेखि सराङकोट, फेवातालदेखि बन्जी, जिपफ्लायर र प्याराग्लाइडिङका स्थानसम्म अहिले घुम्न आउनेहरूको भीड देखिन्छ।

होटल व्यवसायीहरूका अनुसार लामो मौसमी बिदाले पोखराका होटल, रेस्टुरेन्ट र साहसिक खेल क्षेत्र पुनःप्राण पाएका छन्। “लामो समयको संघर्षपछि अहिले केही राहत महसुस भएको छ,” होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, “अहिले लेकसाइडका ९० प्रतिशत होटल भरिएका छन्। मौसम र बिदाले पोखरा हुँदै अन्नपूर्ण पदमार्ग र मुस्ताङसम्म घुम्न निस्किएका आन्तरिक तथा विदेशी पर्यटकले उत्साह थपेका छन्।”

सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल करिब आठ खर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ, जसमा छ खर्बभन्दा बढी रकम होटल व्यवसायमै लगानी गरिएको छ। करिब १५ हजार मानिस प्रत्यक्ष रोजगारीमा छन्। पोखरामा हाल १,२०० पर्यटकीयस्तरका होटल सञ्चालनमा छन्, जसमा ७०० भन्दा बढी लेकसाइड र ड्यामसाइड क्षेत्रमा छन्। यी होटलहरूले एकै रातमा करिब ४० हजार पाहुना समायोजन गर्न सक्छन्।

पोखरा केवल ताल र हिमालको सहर मात्र होइन, पदयात्राको प्रवेशद्वार पनि हो। अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, घोरेपानी–पुनहिललगायतका विश्वप्रसिद्ध ट्रेकिङ रुट यतैबाट सुरु हुन्छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्य भन्छन्, “पोखरा नेपालका लागि ट्रेकिङको ढोका हो। अहिले दैनिक हजारौँ आन्तरिक र सयौँ विदेशी ट्रेकर यी मार्ग हुँदै निस्किरहेका छन्।”

आचार्यका अनुसार हालै टानले अन्नपूर्ण नर्थ अर्थात् ‘मौरिस हर्जोग ट्रेल’ नामक नयाँ पदमार्ग प्रवर्द्धन गरेको छ। “हामीले नयाँ रुट पहिचान, ट्रेकर सुरक्षा र गाइडहरूको क्षमता अभिवृद्धिमा काम गरिरहेका छौँ,” उनले थपे।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेल पनि अहिलेको पर्यटन गतिविधिबाट उत्साहित छन्। “दसैँभन्दा तिहारमा पर्यटकको आगमन झनै बढेको छ। रेस्टुरेन्ट र बारमा रमाइलो माहोल छ, यसले व्यवसायीहरूलाई ऊर्जा दिएको छ,” उनले भने।

तर, पर्यटन व्यवसायीहरूले यो अस्थायी चहलपहललाई दीर्घकालीन बनाउने आवश्यकता औंल्याएका छन्। पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेल भन्छन्, “यो मौसमी भीडले मात्र ठूलो लगानी थेग्दैन। सरकारले वर्षभर पर्यटन सक्रिय राख्ने योजना बनाउनुपर्छ।”

उनका अनुसार पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक गतिविधिहरूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन र दिगो पर्यटन रणनीति अवलम्बन गर्न राज्यले अग्रसरता लिनुपर्छ। “पोखरा साहसिक पर्यटनको हब बन्न सक्छ, त्यसका लागि पूर्वाधार र नयाँ गन्तव्य विकासमा लगानी बढाउनुपर्छ,” उनले भने।

फेवातालको किनारमा साँझपख झिलिमिली बत्ती, डुङ्गा सयर, साइक्लिङ र तालबाराही मन्दिरसम्मको भ्रमणले पर्यटकलाई लोभ्याइरहेको छ। सराङकोटबाट देखिने सूर्योदय, विश्व शान्ति स्तूपा, डेभिस फल्स, गुप्तेश्वर गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले पोखराको आकर्षण झनै बढाएको छ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आगामी दिनमा विदेशी पर्यटकको आगमन अझ वृद्धि हुने अपेक्षा गरिएको छ। अहिलेको रमाइलो मौसम र भीडभाडले पोखराको पर्यटन फेरि जीवन्त भएको स्पष्ट संकेत दिएको छ।

कात्तिक ९, २०८२ आइतबार ०७:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।