प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाएर राखेको आरोपमा दुई जना पक्राउ
 
                    
                    
                    
                    काठमाडौं : गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलका गोली लुकाएर राखेको आरोपमा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दिया बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापा झिलझिलेका १६ वर्षीय सोनम थापामगर रहेका छन्। दुवै जना हाल काठमाडौँमा बसोबास गर्दै आएका थिए।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीका अनुसार, नरेफाँटस्थित चेकजाँचका क्रममा शङ्कास्पद अवस्थामा फेला परेका गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनामा संलग्नता पत्ता लागेको हो। “सोधपुछका क्रममा गिरीको बयानका आधारमा उनका साथी थापामगरको कोठामा पनि गोली भेटिएको छ,” एआईजी कार्कीले बताए।
अनुसन्धानका क्रममा गिरीको लाजिम्पाटस्थित कोठाबाट ‘३११२३’ लेखिएका पेस्तोलका तीन गोली फेला परेका छन्। त्यसपछि थापामगरको मालिगाउँस्थित कोठा खानतलासी गर्दा सोही नम्बरका दुई गोली र छालाको पेटी बेल्टको बक्कल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
कात्तिक ८, २०८२ शनिबार २२:२०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    