आन्दोलनको तयारीमा रहेको पक्षलाई सरकारले वार्तामा बोलायो, संवादमा नआए बल प्रयोगको तयारी
काठमाडौं : गृह मन्त्रालयले सरकार निर्वाचनको वातावरण बनाउन केन्द्रित रहेको भन्दै यो बिचमा धर्ना तथा विरोध प्रदर्शन भन्दा सरकारसँग संवादमा आउन अनुरोध गरेको छ।
शनिवार प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि गृहले विज्ञप्तिमार्फत निर्वाचनको वातावरण बिथोल्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो।
पछिल्लो समय दुर्गा प्रसाईँ र राजावादी समूहहरू आन्दोलनको तयारीमा छन्। उनीहरूले आफू निकट टेलिभिजन च्यानल, युट्युवर र सामाजिक सञ्जालमार्फत आन्दोलनको प्रचार गरिरहेका छन्।
गृहको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने उल्लेख छ।
जेन-जी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको भन्दै विज्ञप्तिमा सोही अनुसार सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, श्रोत र साधनको व्यवस्थापन, राजनीतिक दलहरू एवम् सरोकारवालाहरूसँग वार्ता र संवाद गरिरहेको उल्लेख छ।
देशमा शान्ति सुरक्षा कायम गर्दै घोषित मितिमा स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको योगदान महत्त्वपूर्ण एवम् अपरिहार्य रहेको र २०८२ भदौ २३ र २४ गतेको प्रदर्शन पश्चात्, सार्वजनिक सेवा पुनः सुचारु गर्नुको साथै क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्रक्रिया आरम्भ गरी शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याई निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गरेको उल्लेख छ।
“आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्बाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ” विज्ञप्तिमा भनिएको छ।
जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको भन्दै धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट मागको विधिसम्मत समाधान खोज्न मन्त्रालयले आग्रह गरेको छ।
संवादमा नआए बल प्रयोगको तयारी
छठपछि आन्दोलन गर्ने भन्दै दुर्गा प्रसाईँ प्रचारमा सक्रिय छन्। राजतन्त्रको पक्षधरहरूले पनि छठपछि आन्दोलनको तयारी गरिरहेका छन् भने राजावादी शक्ति राप्रपाका युवा नेताहरू शनिबारबाटै आन्दोलनमा उत्रिएका छन्।
एकपछि अर्को आन्दोलनको तयारी बढेपछि शुक्रवारै सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेको थियो। शनिवार प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीसहित चारै सुरक्षा अङ्गका प्रमुखहरूसँग सुरक्षा अवस्था र भावी रणनीतिबारे छलफल गरेकी थिइन्।
छलफलमा प्रसाईँले अराजकता फैलाउनेगरि आन्दोलनको तयारी गरेको भन्दै प्रारम्भमा वार्तामा बोलाउने र वार्तामा नआए राज्यको सुरक्षा संयन्त्र परिचालन गरी आन्दोलन निष्क्रिय गराउनेबारे छलफल भएको थियो।
प्रसाईँको पृष्ठभूमी र उनको आन्दोलनका सहयोगीको आधारमा प्रदर्शन हिंसात्मक हुने र लामो समय आन्दोलन भए सुरक्षामा त्यसको नकारात्मक प्रभाव पर्ने भन्दै संवादबाट समस्या समाधान नभए सुरक्षा संयन्त्र प्रारम्भमै बल प्रयोग गर्नु पर्ने पक्षमा देखिएको छ।
शनिबारको बैठकमा वार्ताका लागि पहल गर्न गृहमन्त्रीलाई निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले आवश्यक सुरक्षा तयारी गर्न सुरक्षा संगठनका प्रमुखहरुलाई निर्देशन दिएकी थिइन्।
सम्बन्धित समाचार
कात्तिक ८, २०८२ शनिबार २१:२४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।