विपिन जोशीको सम्झनामा भीमदत्तमा बन्यो 'विपिन चोक', प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता हुने

विपिन जोशीको सम्झनामा भीमदत्तमा बन्यो 'विपिन चोक', प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगर : इजरायल–हमास युद्धका क्रममा हमासद्वारा अपहरण भई ज्यान गुमाएका विपिन जोशीको सम्झनामा महेन्द्रनगरमा ‘विपिन चोक’ नामकरण गरिएको छ।

शनिबार साँझ भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा आयोजित एक समारोहका बीच दीप प्रज्वलन गर्दै टोलको नाम ‘विपिन चोक’ राखिएको हो। कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि र जोशीका परिवारजनको सहभागिता थियो।

वडाध्यक्ष गगनसिंह धामीले विपिन जोशी वडाका उत्कृष्ट खेलाडीमध्ये एक भएको बताउँदै उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरे। उनले भने, “दुई वर्षसम्म हामी उहाँ सकुशल फर्कने आशामा थियौँ, तर उहाँले आफ्ना साथीहरूको ज्यान जोगाएर आफू बलिदान हुनुभयो। उहाँको स्मृतिमा अब बन्ने वडा कार्यालयमा उहाँको तस्बिर राख्नेछौँ र खेलकुदमार्फत उहाँको सम्झना जीवित राख्नेछौँ।”

स्थानीयवासीको चाहनाअनुसार ‘विपिन चोक’ नामाकरण गरिएको भन्दै वडाध्यक्ष धामीले यसलाई अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराइनेछ।

कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीसहित टोलबासीले दीप प्रज्वलन गर्दै स्वर्गीय विपिनप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

कात्तिक ८, २०८२ शनिबार २१:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।