एमालेले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने
नवलपरासी : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीले आगामी चुनाव तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै अघि बढाउने बताएका छन्।
शनिबार सुनवलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार फागुन २१ गतेका लागि तोकिएको निर्वाचन गराउने तयारीमा नलागेको आरोप लगाए। उनले भने, “संसद् पुनःस्थापनाको एजेन्डा एमालेले कहिल्यै छोडेको छैन। देशलाई स्थायित्व दिन र राजनीतिक सहमति कायम गर्न संसद् पुनःस्थापना अपरिहार्य छ।”
ज्ञवालीले ‘जेनजी’ आन्दोलन र युवा पुस्ताका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना जरुरी रहेको बताए। उनका अनुसार, प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार अझै फिर्ता नआएकाले र पाँच हजारभन्दा बढी कैदी फरार भएकाले पनि निर्वाचनमा सुरक्षा चुनौती रहने देखिएको छ।
उनले थपे, “फेरि पनि सहमतिको बाटोबाट अघि बढ्न सकिन्छ। भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गरी ‘जेनजी’ प्रतिनिधिसँग वार्तामार्फत न्यूनतम सहमति बनेपछि संसद् पुनःस्थापना र निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गर्न सकिन्छ।”
उपमहासचिव ज्ञवालीले पार्टीको महाधिवेशन तोकिसकेको भन्दै नेतृत्वको अन्तिम निर्णय महाधिवेशनले नै गर्ने स्पष्ट पारे।
कात्तिक ८, २०८२ शनिबार १९:३०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।