मन्त्री घिसिङले गरे निर्माणाधीन संसद् भवनको अवलोकन, समयमै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन

मन्त्री घिसिङले गरे निर्माणाधीन संसद् भवनको अवलोकन, समयमै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन

काठमाडौं : सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।

शुक्रबार निर्माणस्थलको अवलोकनपछि मन्त्री घिसिङले ठेकेदार कम्पनीका प्रतिनिधिलाई दैनिक कार्यतालिका बनाएर काम अघि बढाउन आदेश दिए। उनले भने, “पाँचौँ पटक म्याद थपिएको यो परियोजनामा ठेकेदारले आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। अब उक्त समयभित्रै भवन निर्माण सम्पन्न गर्न गम्भीर भएर काम गर्नुपर्छ।”

हाल नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन ‘जेनजी आन्दोलन’का क्रममा क्षतिग्रस्त भएपछि राष्ट्रियसभा बैठक सञ्चालनमा समस्या भएको बताउँदै मन्त्री घिसिङले नयाँ संसद् भवन तत्काल आवश्यक रहेको उल्लेख गरे।

“पुरानो भवनमा आगजनीका कारण क्षति पुगेको छ। अब राष्ट्रियसभा र आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक बस्नुपर्ने भएकाले नयाँ संसद् भवन छिट्टै तयार पार्नुपर्छ,” उनले जोड दिए।

ठेकेदार कम्पनीका प्रतिनिधिहरूले अहिलेसम्म ८७ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन्। भवनभित्र ‘फिनिसिङ’ कार्य जारी रहेको र केही निर्माण सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको पनि उनले स्पष्ट पारेका छन्। बाँकी काम पुस १६ गतेसम्म पूरा गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ।

सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवन १५७ रोपनी क्षेत्रफलमा फैलिएको छ।

कात्तिक ८, २०८२ शनिबार १८:३८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।