लागुऔषध गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

लागुऔषध गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ परेका ती व्यक्तिहरूको साथबाट करीब ७ किलो २९५ ग्राम गाँजा जस्तो पदार्थ बरामद गरिएको हो।

पक्राउ पर्नेमा भारतका २५ वर्षीय हरगोबिन्द सिँह, १९ वर्षीय समिर, र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन्। विमानस्थलको भन्सार क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरिएका उनीहरूलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार एयर एसियाको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका हरगोबिन्द र समिरको साथबाट ३ किलो ५४० ग्राम, र इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट आएका सम्पदको साथबाट ३ किलो ६५५ ग्राम लागुऔषध जस्तो पदार्थ बरामद गरिएको हो।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले जानकारी दिए।

कात्तिक ८, २०८२ शनिबार १७:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।