एकैदिनमा मुस्ताङ पुगे करिब सात हजार पर्यटक
मुस्ताङ : धार्मिक र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध मुस्ताङ जिल्लामा एकैदिन करिब सात हजार पर्यटक पुगेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको भोलिपल्ट मात्रै ६ हजार ८५९ जना आन्तरिक र विदेशी पर्यटक राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका हुन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार तीमध्ये ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक रहेका छन्। शुक्रबार मात्रै २ हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेको पनि उनले जानकारी दिए।
तिहार सकिएलगत्तै मुक्तिनाथ दर्शन र मुस्ताङको प्राकृतिक सौन्दर्य अवलोकनका लागि यात्रुहरूको चाप बढेको प्रहरीले जनाएको छ। बेनी–जोमसोम सडकमार्गमा सवारीसाधनको लामो लस्कर देखिएपछि राजमार्ग दिनभर व्यस्त रहेको थियो।
कात्तिक महिनाको पहिलो साताभर मात्रै उक्त सडकमार्ग हुँदै २० हजार ५०९ जना पर्यटक मुस्ताङ पुगेका छन्। यस अवधिमा १७ हजार १२९ जना आन्तरिक र ३ हजार ३८० जना विदेशी पर्यटक रहेका प्रहरी तथ्याङ्कले देखाएको छ। त्यसै अवधिमा ६ हजार ७३६ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मुस्ताङमा १ लाख १८ हजार ५८९ पर्यटक पुगेका थिए। तीमध्ये ९१ हजार १२५ जना आन्तरिक र २७ हजार ४६४ जना विदेशी रहेका छन्।
मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङका अनुसार तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको असामान्य चाप बढेको छ। बिहानैदेखि दर्शनार्थीहरूले मन्दिर परिसर खचाखच भरिएका छन्। भीड व्यवस्थापनका लागि सुरक्षा निकाय र स्वयंसेवकहरू खटाइएका छन्।
चिसो बढ्दै गएपछि उच्च हिमाली क्षेत्र (हाइ अल्टिच्युड) को सम्भावना ध्यानमा राखी स्वास्थ्यकर्मी र उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको गुरुङले बताउनुभयो। मुक्तिनाथ क्षेत्रमा सीसी क्यामेरा जडान भइसकेकाले दर्शनार्थीको सुरक्षामा कुनै समस्या नहुने समितिले जनाएको छ।
पर्यटकको अत्यधिक चापले मुस्ताङमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको प्रहरीले बताएको छ। सयौँ सवारीसाधन एकैपटक सडकमा निस्कँदा ट्राफिक जाम समेत भएको थियो। घाँसादेखि मुक्तिनाथसम्म रहेका करिब ३०० होटलहरू भरिभराउ भएका छन्।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार चाडपर्वको समयमा मुस्ताङ धार्मिक र पारिवारिक भ्रमणका लागि प्रमुख गन्तव्य बन्दै गएको छ। “दसैँ, तिहार र छठजस्ता लामो बिदामा देशभरका युवा, विद्यार्थी र परदेशी नेपाली मुस्ताङतर्फ आकर्षित भइरहेका छन्,” उनले भने।
बेनी–जोमसोम–कोरला सडकमार्ग सहज र स्तरोन्नत बन्दै गएसँगै मुस्ताङको पर्यटन व्यवसायमा नयाँ उभार आएको अध्यक्ष लालचनको भनाइ छ। प्रहरीले चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्न चाहने पर्यटकहरूलाई पहिले नै होटल बुकिङ गरेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।
कात्तिक ८, २०८२ शनिबार १७:११:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।