सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न मागसहित सडकमा आन्दोलनरत समूहहरूलाई संवादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकारले राजनीतिक मागहरू संवादमार्फत सम्बोधन गर्न तयार रहेको स्पष्ट पारे।

“राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। त्यसका लागि आन्दोलनकारीहरू संवादमा आउनुपर्छ। सडकमा नउत्रिए पनि संवादबाट समाधान खोज्न सकिन्छ,” गृहमन्त्री अर्यालले भने।

उनले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् हुन नहुने भन्दै प्रदर्शन शान्तिपूर्ण र जिम्मेवार ढङ्गले गर्न आग्रह गरे। “सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनुहुँदैन, हिंसात्मक गतिविधि अस्वीकार्य छन्। सबै राजनीतिक शक्ति र आन्दोलनकारीहरूलाई यो विषयमा सचेत रहन अनुरोध गर्छु,” उनले भने।

गृहमन्त्री अर्यालका अनुसार बालुवाटारमा बसेको सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरिएको छ। उनले सरकार चुनावको वातावरण सुचारु र स्थिर बनाउन केन्द्रित रहेको पनि बताए।

कात्तिक ८, २०८२ शनिबार १६:२५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।