प्रसाईँको आन्दोलनबारे प्रधानमन्त्रीलाई सुरक्षा ब्रिफिङ : अराजकता फैलाएर सत्ता बदल्ने रणनीति, लुटिएका हतियारको जोखिम

प्रसाईँको आन्दोलनबारे प्रधानमन्त्रीलाई सुरक्षा ब्रिफिङ : अराजकता फैलाएर सत्ता बदल्ने रणनीति, लुटिएका हतियारको जोखिम

काठमाडौं: व्यवस्था नै बदल्नै रणनीति बनाएर दुर्गा प्रसाईँ समूह छठ लगत्तै आन्दोलनको तयारीमा सक्रिय भएपछि प्रधानमन्त्री सुशीला कार्की सुरक्षाको अवस्था र आवश्यक रणनीति निर्माणका लागि छलफलमा जुटेकी छिन्।

अराजकता फैलाएर अन्तरिम सरकारलाई असफल बनाउने रणनीतिसहित प्रसाईँसहित राजावादी समूह समेत एकीकृत आन्दोलनको तयारीमा सक्रिय भएपछि प्रधानमन्त्री कार्की गृह प्रशासन र सुरक्षा सङ्गठनका प्रमुखहरूसँग छलफलमा जुटेकी हुन्।

जेनजीको नाममा निरन्तर भइरहेको विरोध प्रदर्शनसँगै प्रसाईँ समूहले समेत आन्दोलनको तयारी गरेपछि सम्भावित सुरक्षा जोखिम र आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्न शुक्रवार केन्द्रिय सुरक्षा समितीको बैठक बसेको थियो। गृहमन्त्रीको अध्यक्षतामा शुक्रवार बैठकपछि शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगालसहित चारै सुरक्षा संगठनका प्रमुखसँग प्रधानमन्त्री कार्कीले शनिबार छलफल गरिन्। 

बालुवाटारमा करिब दुई घण्टा भएको छलफलमा सहभागी सुरक्षा सङ्गठनका प्रमुखहरूले प्रसाईँ वर्तमान सरकारविरुद्ध आम नागरिकमा गलत सन्देश प्रवाह गरेर आफ्नो पक्षमा माहौल बनाउन सक्रिय रहेको र उनीहरूले कात्तिक १८ बाट अराजकता फैलाउने रणनीति अनुसार आन्दोलनको तयारी गरिरहेको ब्रिफिङ गरेका थिए।

जेन-जी आन्दोलनपछि क्षति पुगेको प्रहरी कार्यालयहरू पुनर्स्थापना भइसके पनि आवश्यक स्रोत र साधनहरूको अभाव रहेको र सुरक्षा सङ्गठनका सदस्यहरू तत्काल अर्को ठुलो विरोध प्रदर्शनको सामना गर्न मानसिक रूपमा तयार नरहेको मौका छोपेर प्रसाईँ र राजावादी समूहहरू व्यवस्था नै बदल्ने रणनीति अनुसार आन्दोलनको तयारीमा रहेको बैठकमा ब्रिफिङ भएको स्रोतले बतायो।

दसैँ र तिहारमा पटका लगायतका क्षेत्रको कडाइमा केही कमजोरी देखिए पनि आशा गरे अनुसार नै सुरक्षा व्यवस्था भएको, ठूला आपराधिक घटना नभएको र प्रहरी सङ्गठनका सदस्यहरू शान्ती सुरक्षा कायम गर्न सक्रिय भइसकेकाले आन्दोलनको सुरक्षा व्यवस्थामा सक्षम रहेको प्रहरी संगठनका प्रमुखहरुले ब्रिफिङ गरेका थिए।

तर प्रसाईँले सधैँ आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे पनि हिंसात्मक बनाउने गरेकाले यस पटक पूर्व तयारी गर्नु पर्ने, उनीहरूले अत्यावश्यक सामग्री आयातलाई प्रभावित पार्न सिमा र राजमार्गहरुमा अवरोध गर्न सक्ने भएकाले नेपाली सेनासहित सशस्त्र प्रहरीको सक्रियता बढाउनु पर्ने विषयमा बैठकमा छलफल भएको थियो।

राष्ट्रिय अनुसन्धान विभाग मार्फत उनीहरूको समूहमा रहेकाहरूको गतिविधि, उनीहरूको तयारी, समर्थकहरू, पूर्व राजासहित राजतन्त्र फर्काउन चाहने व्यक्ति र शक्तिहरूको गतिविधि र आन्दोलनमा उनीहरूको भूमिकाबारे पूर्व सूचना सङ्कलन गरेर संयुक्त रूपमा विश्लेषण गर्न संयुक्त संयन्त्र निर्माणबारे समेत छलफल भएको बैठकस्रोतले जानकारी दियो।

“सुरक्षा संगठनले एक्ला एक्लै भन्दा पनि संयुक्त रूपमा उनीहरूको तयारी र गतिविधिबारे सूचना सङ्कलन र संयुक्त विश्लेषणको संयन्त्रबारे बैठकमा छलफल भएको थियो,” बैठकस्रोतले उकेरासँग भन्यो “उनीहरूको उद्देश्य शान्तिपूर्ण आन्दोलन भनेर अराजकता फैलाएर आतङ्क बढाउने देखिन्छ। जेन-जी आन्दोलनको दोस्रो दिनको ध्वंसात्मक शैलीको प्रभावले सरकार नै बदलिएकाले उनीहरु व्यवस्था नै बदल्न राष्ट्रपति, उपराष्ट्रपति केन्द्रित आन्दोलन गर्न सक्ने जोखिम देखिएको छ।”

व्यक्ति केन्द्रित कुप्रचार

आन्दोलनको घोषणा गरेसँगै प्रसाईँले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्यालसहित जेन-जी आन्दोलनपछि सक्रिय देखिएका सुधन गुरुङ, रक्षा बम लगायत केन्द्रित उत्तेजक अभिव्यक्ति दिइरहेका छन्।

उनले कार्की र अर्याललाई गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधार्न भएको आन्दोलनसँग जोडेर आलोचना गर्ने गरेका छन्।केसीको आन्दोलनको प्रभावले नयाँ मेडिकल कलेजको सम्बन्धन रोकिएसँगै उनको बिएन्डसीले पनि सम्बन्धन पाउन सकेन। त्यसयता उनी केसीको समर्थकप्रति निकै नकारात्मक छन्। कार्की र अर्यालसमेत केसीको टिमको सदस्य रहेको भन्दै उनले आलोचना गर्ने गरेका छन्।

वर्तमान सरकार मुख्य गरेर पश्चिमाहरूको योजना अनुसार बनेको र उनीहरूको उद्देश्य चीन विरुद्धको गतिविधि बढाउने रहेको उनले दाबी गर्ने गरेका छन्। आफू निकट केही टेलिभिजन र युट्युब च्यानललाई आन्दोलनको प्रचार संयन्त्रको रूपमा प्रयोग गरिरहेको भन्दै सुरक्षा समितिको बैठकमा त्यसबारे समेत छलफल भएको थियो।

“उनी व्यक्ति लक्षित आलोचना र कुप्रचारमा सक्रिय भइसकेका छन्। स्थानीय प्रशासनबाट अनुमति मागी नसके पनि कात्तिक १८ बाट आन्दोलन सुरु गर्न सक्ने तयारी देखिएकाले त्यही अनुसार सुरक्षा रणनीति र सूचना सङ्कलनको गति बढाउनेबारे छलफल भयो,” बैठकमा सहभागी सुरक्षास्रोतले भन्यो” प्रधानमन्त्री अनि गृहमन्त्री दुवै प्रसाईँको आन्दोलनबारे गम्भीर देखिनुभयो।”

फरार कैदी र लुटिएका हतियारको जोखिम

प्रसाईँले पहिलादेखि कारागारमा रहेका कैदी/बन्दीलाई कारागारमुक्त गर्ने दाबी गर्दै आएका थिए। जेनजी आन्दोलनको दोस्रो दिन उनले पहिला दाबी गरे जस्तै गरेर कारागारमा रहेका करिब १५ हजार कैदी/बन्दी फरार भएका थिए। करिब पाँच हजार कैदी/बन्दीसँगै सुरक्षा सङ्गठनबाट लुटिएका हतियारहरू अझैँ फिर्ता भएको छैन।

बैठकमा सुरक्षा चुनौतीमा मुख्य रूपमा फरार कैदी तथा बन्दी र लुटिएका हतियार आन्दोलनमा प्रयोग हुनसक्ने जोखिमबारे समेत समीक्षा भएको स्रोतले बतायो। प्रसाइँले आफ्नो आन्दोलनमा जेन-जी आन्दोलनमा सहभागी केही नेताहरुलाई सहभागी गराउन प्रयास गरिरहेको र केही जेन-जी युवाहरु उनीसँग नियमित सम्पर्कमा रहेको सूचना समेत सुरक्षा निकायमा पुगेको देखियो।

राप्रपामा रहेका खुस्बु ओली लगायतका नेताहरु सडक प्रदर्शनमा सक्रिय भइसकेका छन्। उनीहरुले शनिबार प्रदेश खारेजी , राजाको प्रतिनिधीसहितको नविन समझदारी र वर्तमान संविधानको खारेजीको माग गरेका थिए।

जेन-जी आन्दोलन लगत्तै केपी ओलीको राजिनामापछि भावी प्रधानमन्त्री खोज्न प्रधानसेनापतीले जंगी अड्डाबाट शुरु गरेको राजनीतिक संवादमा राप्रपाका युवा नेता रवि किरण हमालले आन्दोलनको नेता आफू भएको दाबी गरेका थिए। उनी पनि आन्दोलनमा सक्रिय देखिएका छन्।

संवादमा आउन आग्रह

सुरक्षा सङ्गठनका प्रमुखहरूसँगको बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले सबै पक्षलाई सडकको सट्टा संवादमा आउन आग्रह गरेका थिए। सरकार संवादका लागि तयार रहेको भन्दै उनले विरोध प्रदर्शनको साटो संवादमा आउन सबै पक्षलाई आग्रह गरेका थिए।

उनले सडकमा गएर लोकतान्त्रिक अधिकार प्रयोग गर्ने हो भने पनि त्यो अहिंसात्मक हुनुपर्ने र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउन नहुने बताएका थिए।

कात्तिक ८, २०८२ शनिबार १५:४०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।