डा. पवनको उपचार अनुभव : कृत्रिम आँखा जडान भएपछि युवती आँसु पुछ्दै ढोग्न आइन्...
काठमाडौं : डा. पवन मेहता दन्त चिकित्सक हुन्। उनी कृत्रिम दन्त विशेषज्ञका रुपमा समेत चिनिन्छन्। उनै डा. पवनले दन्त चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।
गुमेको ज्योतिमा कृत्रिम आँखा राखेर सुन्दरता फर्किएपछि जब ती युवतीले रुँदै ढोगिन्
एक जना युवतीलाई कृतिम आँखा राखिदिएको एउटा प्रसंग कहिल्यै भुल्दैनन् डा. पवन। प्रसंग करिब पाँच वर्ष अघिको हो। करिब २२ वर्षकी अविवाहित युवती डा. पवनको क्लिनिकमा पुगिन्। ती युवतीको कुनै दुर्घटनामा परेर दायाँतर्फको आँखा गुमेको रहेछ। आँखाको डल्लो (आइ बल) नै फुटेकाले आँखा नै शल्यक्रिया गरी निकाल्नु परेको थियो। आँखाको डल्लो निकालेपछि ती युवतीको आँखाको भाग नै खालि भयो। आँखा गुमेका कारण ती युवतीलाई कतिपयले ‘हेय’का दृष्टिले हेर्ने भएकाले तनाव हुँदो रहेछ।
ती युवतीको फुटेर सदाका लागि दायाँ आँखाको दृष्टि गुमिसकेकाले देख्ने हैन, हेर्दा राम्रो देखिने कृत्रिम आँखा मात्रै चाहिएको थियो।
डा. पवनले ती युवतीको आँखाको अवस्था हेरे। अनि प्राकृतिक आँखा जस्तै दुरुस्तै देखिने किसिमको कृत्रिम आँखा राखिदिने निर्णय गरे।
ती कृत्रिम आँखा राख्ने उपचारका लागि ५० हजार भन्दा रकम लाग्ने थियो। तर, ती युवतीको परिवारसँग कृत्रिम आँखा राख्ने त्यत्रो आर्थिक अवस्था थिएन। त्यसैले उनले निःशुल्क नै कृत्रिम आँखा राखिदिनेगरी प्रक्रिया अगाडि बढाए। उपचार प्रक्रियाको लागि केही न्युनतम शुल्क मात्रै लिएको सम्झन्छन्, उनी।
डा. पवनले चार दिनको मेहनतपछि ती युवतीको फुटेको त्यो दायाँ आँखामा कृत्रिम (नक्कली) आँखा राखिदिए। यस्तो उपचार विधिलाई चिकित्सकीय भाषामा म्याग्जिलोफेसियल उपचार भनिन्छ। जुन ज्ञान तथा सीप डा. पवनसँग छ। कृत्रिम आँखा राखिएपछि युवतीले ऐना हेरिन्।
नदेखेपनि त्यो राखिएको कृत्रिम दायाँ आँखा चारैतिर चलाउँदा चल्न थालेको उनले ऐनामा बायाँ आँखाले देखिन्। बाहिर अरुले हेर्दा दुरुस्तै प्राकृतिक आँखा जस्तै देखियो। अरुले हेर्दा दायाँ आँखाको दृष्टि गुमेको छ भनेर अनुमान लगाउन नसक्ने देखियो। दायाँ आँखाको दृष्टि गुमाएकी ती युवतीले खोजेको पनि त्यही नै थियो।
दृष्टि गुमेको दायाँ आँखा बाहिरबाट हेर्दा प्राकृतिकजस्तै देखिनेगरी राखिदिएपछि ती युवती त रुन थालिन्। बायाँ आँखाबाट उनका आँसु खसे। युवती रोएपछि सुरुमा ला! आँखा राख्नेक्रममा केही समस्या पो भयो की भनेर डा. पवन झस्किए।
तर, युवतीले खुसीको आँसु खसाएकी रहिछिन्। ती युवतीले खुसीका आँसु झार्दै डा. पवनलाई ढोगिन् र भनिन्,‘सर मेरो विवाह पनि भएको छैन, अब त म खुसी भएँ।’
एक जना युवतीको कृत्रिम आँखा राखिदिएर आँखा फर्काउन सम्भव नभएको अवस्थामा आँखाको सुन्दरता फर्काउन भने सकेकोप्रति डा. पवनलाई पनि आनन्द लाग्यो। र, उनको मन छोयो, अनि उनी पनि अलि भावुक बने। युवती अस्पतालबाट सुन्दरता फर्काएर घर फर्किइन्। अहिले पनि बेलाबेलामा ती युवती फलोअपमा आउने गरेको डा. पवनले सुनाए।
नमिलेको दाँत मिलाएपछि मात्र विवाह
करिब २४ वर्षकी युवतीको उपचार गरेको प्रसंग पनि डा. पवन कहिल्यै भुल्दैनन्। प्रसंग केही महिना अघिको मात्रै हो। ती २४ वर्षीय युवती अस्पताल पुगिन्। ती युवतीको दाँत छिद्रा परेको (छिचरा भएको) र बांगोटिंगो भएर नमिलेका कारण सुन्दरतामा नै समस्या भएको रहेछ।

ती युवतीको छिचरो र बांगोटिंगो भएका दाँत तार बाँधेर मिलाउनु उचित हुने थियो। तर, यो विधिबाट दाँत सही ठाउँमा आउन एक वर्ष भन्दा बढी नै समय लाग्ने अवस्था थियो। ती युवतीको भने त्यो भन्दा चाँडै मिलाउने विधि भए चाँडै दाँत मिलाउनु पर्ने अवस्था थियो। उनको परिवारले चाँडै विवाह गर्नुपर्ने भएकाले चाँडै दाँत मिलाइदिन अनुरोध गरेछन्।
त्यसैले डा. पवनले छिटो दाँत मिलेको देखिने विकल्पको उपचारात्मक विधि अपनाउने निर्णय लिए। उनले दाँतमा आरसिटी गरी छिचरो दाँतको उपचार गरे। अनि बांगोटिंगो नदेखिनेगरी नमिलेको दाँतमा ‘क्याप’ लगाएर छोपिदिए। यो सबै उपचार प्रक्रियाका लागि तीन दिन लाग्यो।
दाँत मिलाएपछि ती युवतीले पनि ऐना हेरिन्। ऐन हेर्दा त चटक्क मिलेका दाँत देखिइहाल्यो। दाँत मिलेको देखिएपछि ती युवतीलाई सुन्दरता फर्किएको महसुस भयो। युवतीले अनुहारमा चमकता नै आएको महसुस गरिन्। युवती खुसी भइन्। ती युवतीले पनि खुसीको आँसु झार्दै उनलाई ढोगिन्। ती २४ वर्षीय युवतीको सुन्दरता फर्काउन सफल भएकोमा डा. पवनलाई पनि खुसी नलाग्ने कुरै भएन।
ती युवतीको परिवारको पनि आर्थिक अवस्था भने कमजोर थियो। त्यसैले ती युवतीको पनि निःशुल्क नै उपचार गरेको उनले सुनाए। केही समयपछि ती युवतीको विवाह समेत भएछ। अनि श्रीमानसँग युवती खुसी हुँदै फलोअपमा समेत आएको डा. पवनले सुनाए।
सुनसरीमा जन्म, रोजाइमा दन्त चिकित्सा विषय
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–८ मा २०४६ मा जन्मिएका पवन मेहता हाल बिराटनगरमा बसोबास गर्छन्। उनले इटहरीको पाथिभरा इङ्लीस बोर्डिङ स्कुलबाट २०६१ मा एसएलसी गरे। इँटहरीकै विश्व आदर्श हाइयर सेकेण्डरी स्कुलबाट उनले प्लस टु गरे।
पवनलाई सानैबाट डाक्टर बन्ने रहर थियो। त्यही अनुसारको तयारी गरे। अनि छनोट परीक्षा पार गरेर प्लसटुपछि उनको चिकित्सकीय अध्ययन यात्रा सुरु भयो। पवनले २००८ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भैरहवास्थित ‘युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस’मा चिकित्साशास्त्रको स्नातक तहको बीडीएस अध्ययनका लागि भर्ना भए। सन् २०१३ मा उनको बीडिएस अध्ययन पूरा भयो।
बीडीएसपछि केही समय डा. पवन बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा करिब ६ महिना डेन्टल सर्जन (मेडिकल अधिकृत)का रुपमा काम गरे।
एमडिएसमा टीयू टपर
डा. पवनले थप अध्ययन तुरुन्तै अगाडि बढाइहाले। उनले चिकित्सा शास्त्रको स्नातकोत्तर तहको ‘एमडिएस (प्रोस्थोडन्टिक्स एण्ड म्याग्जिलोफेसियल प्रोस्थेटिक्स)’ विषय अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाडौंको पिपुल डेन्टल अस्पताल (मेडिकल कलेज) मा सन् २०१४ मा भर्ना भए। डा. पवनलाई नोबेल मेडिकल कलेजले नै ‘फ्याकल्टि डेभलप्मेन्ट प्रोग्राम’ अन्तर्गत आर्थिक सहयोग गरेर छात्रवृति रकम दिई एमडिएस अध्ययन गर्ने अवसर दिएको रहेछ। त्यही अवसरमा उनले एमडिएस पढेका रहेछन्। सन् २०१७ मा उनले एमडीएस अध्ययन पूरा गरे। डा. पवन एमडीएस ध्ययनको त्यो ब्याचको टीयू टपर नै भए।
एमडिएस अध्ययनपछि डा. पवन हालसम्म निरन्तर बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा नै कार्यरत छन्। उनी लेक्चररबाट सहायक प्राध्यापक हुँदै बढुवा भएर सो मेडिकल कलेजमा सह–प्राध्यापकको शैक्षिक भूमिकामा समेत छन्। दुई महिनायता डा. पवन सो मेडिकल कलेजको ‘डिपार्टमेन्ट अफ प्रोस्थोडन्टिक्स एण्ड म्याग्जिलोफेसियल प्रोस्थेटिक्स’ विभागको प्रमुखको जिम्मेवारीमा समेत छन्।
उनको अहिलेको मुख्य काम विशेषगरी दाँत र म्याग्जिलोफेसियल सम्बन्धी समस्या भएका बिरामीको उपचार गर्नु, चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु र चिकित्सा शास्त्र विषयसँग सम्बन्धित वैज्ञानिक खोज तथा अनुसन्धान गर्नु हो। उनका पाँच वटा वैज्ञानिक आलेख विभिन्न जर्नलमा प्रकाशित छन्।

त्यसैगरी डा. पवनले बिराटनगर र इँटहरीमा लोक सेवा डेन्टल क्लिनिक पनि सञ्चालन गरेका रहेछन्। अब यही नामको अस्पताल सञ्चालनको तयारी पनि छ रे। उनले क्लिनिकमा पैसा भएकाबाट उपचार वापतको शुल्क लिने अनि पैसा नै नभएर उपचार गर्न नसकेका व्यक्तिलाई निःशुल्क उपचार गर्ने उदेश्यले नै क्लिनिकको नाम नै लोक सेवा राखेको सुनाए। दन्त चिकित्साको विषयमा सन्देश दिने विशेष माध्यमका रुपमा उनी टिकटक प्रयोग गर्दा रहेछन्।
नेपाली मात्रै हैन विदेशबाट समेत आफूकहाँ उपचारका लागि आउने गरेको डा. पवनले सुनाए।
कृत्रिम दाँत लगाउने काम
डा. पवनलाई कृत्रिम दन्त विशेषज्ञका रुपमा चिनिन्छ। उनीको मुख्य काम दाँतको उपचार गर्ने तथा बनाउने र कृत्रिम नाक, कान र आँखा हालिदिनु हो। विभिन्न कारणले झरेको वा दाँत नभएको व्यक्तिको कृत्रिम दाँत लगाउने काम गर्छन्, डा. पवन।
किनकी दन्त चिकित्साका विभिन्न विषयमध्ये एमडीएस अध्ययनमा उनले प्रोस्थोडन्टिक्स एण्ड म्याग्जिलोफेसियल प्रोस्थेटिक्स विषय छनोट गरेका हुन्। यी दुवै विषयको ज्ञान तथा सिप छ उनीसँग।
प्रोस्थोडन्टिक्स विषय दन्त चिकित्साको एउटा शाखा हो। यो विषय अध्ययन गरेका चिकित्सकको मुख्य काम विभिन्न कारणले क्षति भएका तथा दाँत नै नभएका व्यक्तिको लागि कृत्रिम दाँत (डेन्टल प्रोस्थेटिक) लगाउनु तथा बनाउनु हो।
दाँत दीर्घकालिन रुपमा रहने (फिक्स गरेर राखिने) र खोल्दै लगाउन मिल्ने गरी दुई किसिमले कृत्रिम दाँत राखिन्छ। दाँत नभएको ठाउँमा इम्प्लान्टको सहयोगमा दीर्घकालिन रुपमा रहने गरी र इम्प्लान्टको सहयोग बिना दयाँबायाँ भएको दाँतको आडमा समेत दीर्घकालिन रुपमा रहनेगरी दाँत लगाउन सकिने डा. पवनले सुनाए।
त्यसैगरी लगाएको दाँत खोलेर झिकेर राख्न मिल्ने हुन्छ। दीर्घकालिन रुपमा (फिक्स गरेर राखिने) दाँतको तुलनामा खोल्दै लगाउन मिल्ने कृत्रिम दाँत सस्तो पर्छ। तर, यस्तो दाँत धेरै साह्रो खाद्यपदार्थ चपाउन भने नमिल्ने डा. पवनले सुनाए।
बिरामीको स्वास्थ्य अवस्था लगायतको विश्लेषण गरी कुन किसिमले कुन प्रकृतिका कृत्रिम दाँत लगाउने भन्ने निर्णय लिइन्छ।
कृत्रिम आँखा राख्न केन्द्रित
म्याग्जिलोफेसियल प्रोस्थेटिक्स विषय अध्ययन गरेका चिकित्सकको मुख्य काम मुख भित्रका (इन्ट्रा–ओर), मुख बाहिरका (एक्सट्रा–ओरल) र अनुहार पुननिर्माण (फेसियल रिकन्स्ट्रक्शन) सम्बन्धी उपचार गर्नु हो। यो विषय अध्ययन गरेका चिकित्सकले विशेषगरी विभिन्न कारणले गुमेको नाक, आँखा र कान कृत्रिम रुपमा राखेर दुरुस्तै देखिने जस्तो बनाउनु हो।
यसरी कृत्रिम रुपमा लगाइएको नाकले प्राकृतिक नाकको काम गर्न सक्दैन, कानले प्राकृतिक कानको काम गर्न सक्दैन र आँखाले पनि प्राकृतिक आँखाको काम गर्न सक्दैन। तर, अरूले हेर्दा भने नक्कली (कृत्रिम) आँखा, नाक र कान लगाएको मान्छेको आँखा, नाक र कान प्राकृतिक जस्तै दुरुस्त देखिन्छ। जसले गर्दा व्यक्तिको सुन्दरता हुनुकासाथै दुर्व्यवहार बाट समेत बचेर बिरामीको आत्मविश्वास हुने डा. पवनले अनुभव सुनाए।
आँखा, नाक र कानमध्ये आँखाकै बढी बिरामी हुने भएकाले कृत्रिम आँखा राख्ने म्याग्जिलोफेसियलको काममा बढी केन्द्रित रहेर काम गरिरहेको उनले सुनाए। जुन विषयमा उनीसँग ज्ञान र सीप छ।
त्यसैगरी नमिलेको दाँत मिलाउने, छिचरो दाँत भर्ने, पहेँलो दाँत सेतो बनाउने, दाँत उखेल्ने, दाँत भर्ने, दाँत सफा गर्नेलगायतको काममा व्यस्त हुन्छन्, डा. पवन।
कात्तिक ८, २०८२ शनिबार १५:५७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।