आइसीसी विश्वकप क्रिकेट लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्ने
काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ।
आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग–२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो।
लिग–२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग–२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।
लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल कात्तिक ९ आइतबारदेखि १९ गते बुधबारसम्म युएईमा हुँदैछ। नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्दैछ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ।
विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।
कात्तिक ८, २०८२ शनिबार १४:३०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।