प्रकृति संरक्षणमा खटिए नौ हजार सेना

प्रकृति संरक्षणमा खटिए नौ हजार सेना

काठमाडौं : नेपाली सेनाले देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र चुरे क्षेत्रको संरक्षणका लागि नौ हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ।

युद्धकार्य निर्देशक मनोज थापाका अनुसार सेनाले अहिले १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षण क्षेत्रमा जनशक्ति परिचालन गरी सुरक्षा तथा संरक्षण कार्य सञ्चालन गरिरहेको छ।

सेनाका आठ वटा गण, दुई वटा वन तथा वातावरण सुरक्षा गण, र सात वटा अनाश्रित गुल्महरूलाई संरक्षणको जिम्मेवारी तोकिएको छ। चालु आर्थिक वर्षमा सेनाले विभिन्न निकुञ्ज तथा आरक्षण क्षेत्रमा सञ्चालन गरेको कारबाहीका क्रममा ४२ नाल हतियार, १,९७६ वटा जाल–पासो, १,९६५ घरेलु औजार, ३३५ सवारीसाधन, र १६ ओखोटोपहार बरामद गरेको जनाएको छ।

सेनाको प्रभावकारी सुरक्षा र निगरानीका कारण पछिल्लो १५ वर्षयता नेपालमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको थापाले बताए। पछिल्लो गणनाअनुसार नेपालमा ३५५ वटा बाघ र ७५२ वटा गैँडा रहेका छन्। सन् २००९ मा बाघको सङ्ख्या १२१ र सन् २००५ मा गैँडाको सङ्ख्या ४०० मात्र रहेको थियो।

प्रकृति र वन्यजन्तु संरक्षणको क्रममा हालसम्म ११६ जना सैनिकले ज्यान गुमाएका छन् भने चालु आर्थिक वर्षमा मात्रै ५ जना सैनिक जङ्गली जनावरको आक्रमणमा परी घाइते भएका छन्।

यससँगै नेपाली सेनाले हिमालहरूको सौन्दर्य र स्वच्छता कायम राख्न पछिल्ला वर्षहरूमा वार्षिक रूपमा ‘हिमाल सफाइ अभियान’ पनि सञ्चालन गर्दै आएको छ।

कात्तिक ८, २०८२ शनिबार १४:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।