पोखरामा कुटपिट गरी एकको हत्या, २३ वर्षीय युवक पक्राउ

पोखरामा कुटपिट गरी एकको हत्या, २३ वर्षीय युवक पक्राउ

कास्की : पोखरामा सामान्य विवादका कारण भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ। प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-५ प्रस्याङका ४५ वर्षीय अनिल पराजुलीको आज बिहान करिब ४:३० बजे हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार हत्या आरोपमा सोही ठाउँका २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिइएको छ।

कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले प्रारम्भिक अनुसन्धानमा सामान्य भनाभनपछि तिमिल्सिनाले पराजुलीमाथि आक्रमण गरेको देखिएको बताए।

‘घटना सामान्य विवादबाट सुरु भएको देखिन्छ। हामीले अभियुक्तलाई उनको घर नजिकैबाट नियन्त्रणमा लिएका छौँ र थप अनुसन्धान अगाडि बढाएका छौँ’, डीएसपी बस्नेतले भने।

पक्राउ परेका तिमिल्सिनाको साथबाट प्रहरीले एउटा चक्कुसमेत बरामद गरेको छ। मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

कात्तिक ८, २०८२ शनिबार १४:०१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।