तिहारपछि मुस्ताङमा पर्यटकको ओइरो, एकै दिन भित्रिए झण्डै ७ हजार
मुस्ताङ : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तिहार सकिएलगत्तै पर्यटकको ओइरो लागेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार भाइटीकाको भोलिपल्ट शुक्रबार मात्रै राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड हुँदै ६ हजार ८५९ पर्यटक भित्रिएका छन्।
तिहारको लामो बिदामा मुक्तिनाथ दर्शन गर्न र हिमाली सौन्दर्यमा रमाउन आउनेहरूको सङ्ख्या ह्वात्तै बढेपछि बेनी-जोमसोम सडकमा सवारीसाधनको लस्कर देखिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार शुक्रबार एकैदिन ६ हजार ५०६ आन्तरिक र ३५३ विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। यसका लागि २ हजार १६८ यात्रुवाहक सवारीसाधन प्रयोग भएका थिए।
पर्यटक आगमनको आँकडा
मुस्ताङमा पर्यटक आगमन यो सिजनमा उच्च देखिएको छ। प्रहरीको तथ्याङ्कअनुसार कात्तिक महिनाको पहिलो साता १७ हजार १२९ आन्तरिक र ३ हजार ३८० विदेशी गरी कुल २० हजार ५०९ पर्यटक मुस्ताङ आएका छन्।
त्यसैगरी चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी एक लाख १८ हजार ५८९ पर्यटक यहाँ भित्रिएका छन्।
मुक्तिनाथमा दर्शनार्थीको भीड, व्यवस्थापनमा ध्यान
पर्यटकको चाप बढेसँगै प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसर खचाखच भरिएको छ। मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले दर्शनार्थीको सहजताका लागि सुरक्षाकर्मी र स्वयंसेवकहरू परिचालन गरिएको बताए।
‘चिसो बढेकाले लेक लाग्ने (हाइ अल्टिच्युड) समस्यालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मी र उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘मन्दिर वरपर जडान गरिएका सीसी क्यामेराले सुरक्षा निगरानीमा थप मद्दत पुगेको छ।’
पूर्वाधारमा चुनौती
एकैपटक हजारौँ पर्यटक भित्रिँदा मुस्ताङको ट्राफिक व्यवस्थापन र बसोबासमा चुनौती थपिएको छ। घाँसादेखि मुक्तिनाथसम्मका करिब ३०० होटलहरू भरिभराउ भएपछि धेरै पर्यटकले बास पाउन समेत मुस्किल परेको थियो।
उद्योग वाणिज्य सङ्घ मुस्ताङका अध्यक्ष राजुप्रसाद लालचनले भने, ‘चाडपर्वको बिदामा पारिवारिक भ्रमण, शैक्षिक भ्रमण र विदेशबाट फर्किएका नेपालीहरूका लागि मुस्ताङ प्रमुख गन्तव्य बनेको छ, तर पूर्वाधारले पर्यटकको चाप थेग्न गाह्रो भएको छ।’
बेनी-जोमसोम-कोरला सडकखण्ड सहज बन्दै गएपछि मुस्ताङको पर्यटनले नयाँ उचाइ लिएको हो। तर, चाडपर्वको समयमा आउने पर्यटकको अकल्पनीय वृद्धिलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ।
यही कारण, जिल्ला प्रहरी कार्यालयले मुस्ताङ भ्रमणको योजना बनाउनेहरूलाई होटल अग्रिम बुकिङ गरेर मात्र आउन अनुरोध गरेको छ।
कात्तिक ८, २०८२ शनिबार १३:४०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।