गौशालामा युवकको शव फेला
मटिहानी : महोत्तरीको गौशाला बजारमा एक युवक बेवारिसे अवस्थामा मृत फेला परेका छन्। शनिबार बिहान स्थानीय माछा बजारमा उनको शव देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीका अनुसार, मृतक सर्लाहीको हरिपुर्वा नगरपालिका-९ का २५ वर्षीय रामानन्द बैठा हुन्। स्थानीयका अनुसार, बैठा विगत ३-४ वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गरेर गुजारा चलाउँदै आएका थिए।
उनी केही समयदेखि बिरामी रहेको र सोही कारण उनको मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।
इलाका प्रहरी कार्यालय गौशालाले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि जलेश्वरस्थित प्रादेशिक अस्पताल पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
कात्तिक ८, २०८२ शनिबार १३:१९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।