झापामा सर्पको डसाइबाट ५ वर्षीय बालकको मृत्यु
दमक : झापाको शिवसताक्षी नगरपालिकामा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको घटनामा शिवसताक्षी-७, लालपानीका मनकुमार तामाङका ५ वर्षीय छोरा सक्षम तामाङको ज्यान गएको हो।
प्रहरीका अनुसार, सक्षम घर नजिकैको बाँसको झ्याङमा खेलिरहेका बेला विषालु गोमन सर्पले उनको बायाँ खुट्टामा डसेको थियो।
सर्पले डसेपछि बेहोस भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कात्तिक ८, २०८२ शनिबार १२:४०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।