बाँकेमा घाँस काट्न गएका व्यक्तिको जङ्गली जनावरको आक्रमणबाट मृत्यु

बाँकेमा घाँस काट्न गएका व्यक्तिको जङ्गली जनावरको आक्रमणबाट मृत्यु

राँझा : बाँकेको राप्तीसोनारी गाउँपालिकामा जङ्गली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार घाँस काट्न जङ्गल गएका ४० वर्षीय इन्द्रबहादुर खत्रीको शव शनिबार बिहान फेला परेको हो।

राप्तीसोनारी–९, गुरुवागाउँका खत्री शुक्रबार दिउँसो २ बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा गएका थिए। रातिसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए।

शनिबार बिहान प्रहरीसहितको टोलीले जङ्गलमा खोजी गर्ने क्रममा उनको शव चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा फेला पारेको थियो।

प्रहरी चौकी ढकेरीका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीका अनुसार शव फेला परेपछि निकुञ्जसँग समन्वय गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

बाँके राष्ट्रिय निकुञ्जले आक्रमण बाघले गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले घटनास्थलको प्रकृतिले बाघको आक्रमणतर्फ संकेत गरेको बताए।

‘बाघ वा चितुवाले आक्रमण गरेको हुनुपर्छ, तर घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमण जस्तो देखिन्छ,’ उनले भने, ‘आक्रमण गर्ने जनावरको पहिचान गर्न हामी त्यस क्षेत्रमा क्यामेरा जडान गर्दैछौँ।’

कात्तिक ८, २०८२ शनिबार १२:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।