संघीय सरकारले बजेट रोक्दा लुम्बिनीमा विकास आयोजना ठप्प भएको मुख्यमन्त्री आचार्यको दाबी

संघीय सरकारले बजेट रोक्दा लुम्बिनीमा विकास आयोजना ठप्प भएको मुख्यमन्त्री आचार्यको दाबी

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा प्रदेशका महत्त्वपूर्ण आयोजनाहरू प्रभावित भएको दाबी गरेका छन्।

उनका अनुसार सडक पूर्वाधार, शहरी विकास र खानेपानी जस्ता जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाहरू बजेट अभावमा अघि बढ्न सकेका छैनन्।

शनिबार अर्घाखाँचीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले संघीय सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।

‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी र सडकका कामहरू रोकिएका छन्,’ उनले भने, ‘अर्घाखाँची जिल्लाको विकासको गतिलाई अहिलेको संघीय सरकारले कहाँ पुर्याउँदैछ? यो विषयमा जवाफदेहिता हुनुपर्छ कि पर्दैन?’

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए।

सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले जिल्लामा केही समूहले सरकारी कार्यालयमा गएर कर्मचारीहरूलाई धम्क्याउने जस्ता अराजक गतिविधि गरिरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले त्यस्ता कार्य तत्काल रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

‘निश्चित समूहहरू कार्यालय-कार्यालयमा गएर कर्मचारीलाई तेजोवध गर्ने शैलीमा धम्क्याउने काम गरिरहेका छन्। म यस्तो कार्य तुरुन्त रोक्न निर्देशन दिन चाहन्छु। कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन’, उनले भने।

मुख्यमन्त्री आचार्यले सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्दै एमाले अर्घाखाँचीले कात्तिक १० गते आयोजना गर्न लागेको ‘संविधान संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ सद्भाव र्यालीमा सहभागी हुन पनि आह्वान गरे।

कात्तिक ८, २०८२ शनिबार ११:४३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।