संसद भवन जलिरहँदा बनाएको अमनप्रतापको आपत्तिजनक भिडियो डेढ महिनापछि भाइरल

संसद भवन जलिरहँदा बनाएको अमनप्रतापको आपत्तिजनक भिडियो डेढ महिनापछि भाइरल

काठमाडौं : पूर्व ए-डिभिजन फुटबल खेलाडी तथा चर्चित रियालिटी शोका प्रस्तोता अमनप्रताप अधिकारी एक आपत्तिजनक भिडियोका कारण विवादमा तानिएका छन्।

गत भदौ २४ गते बानेश्वरस्थित संसद भवनमा भएको हिंसात्मक प्रदर्शनका क्रममा उनले खिचेको भिडियोमा अराजक र अश्लील शब्द प्रयोग गरेर खुसीयाली मनाएको भिडियो भाइरल भएको हो।

अधिकारीका धेरै परिचय छन्। उनी एक समयका चर्चित फुटबल खेलाडी हुन् भने खेल जीवनबाट सन्यास लिएपछि कमेन्टेटर र प्रस्तोताका रूपमा स्थापित भए।

पछिल्लो समय उनी ‘हिमालयन रोडिज’ जस्ता रियालिटी शोका होस्ट तथा नेपालको पहिलो साहित्यिक रियालिटी शो ‘द पोयट आइडल’का परिकल्पनाकार र निर्देशकका रूपमा चिनिन्छन्।

तर, भदौ २४ गतेको प्रदर्शनमा उनको एक फरक र विवादास्पद रूप देखियो। संसद भवन परिसरमा आगजनी र तोडफोड जस्ता विध्वंसात्मक गतिविधि भइरहँदा अधिकारीले आफ्नै फेसबुक पेजमा राखेका थिए।

उक्त भिडियोमा उनले पृष्ठभूमिमा जलिरहेको संसद भवन देखाउँदै अत्यन्तै आपत्तिजनक र अश्लील शब्दहरू प्रयोग गरी देश र राजनीतिक नेतृत्वप्रति आक्रोश पोखेका छन्।

भिडियोमा उनले बारम्बार ‘देखिस्, जल्यो तेरो देश’ भन्दै नेताहरूलाई गालीगलौज गरेका छन्। उनले भिडियोको क्याप्सनमा अंग्रेजीमा लेखेका छन्, ‘This is how parliament was taken down’ (यसरी संसद भवन ढालियो)। यो समाचार तयार पार्दासम्म उक्त भिडियो उनको फेसबुक वालबाट हटाइएको छैन।

बहुप्रतिभाशाली छवि बनाएका अधिकारीको यस्तो रूपले धेरैलाई चकित बनाएको छ। विशेषगरी, प्रख्यात गीतकार/कवि स्व. क्षेत्रप्रताप अधिकारीका छोरा एवं साहित्यलाई प्रवर्द्धन गर्ने ‘द पोयट आइडल’ जस्तो कार्यक्रमका परिकल्पनाकारबाट यस्तो व्यवहार अनपेक्षित रहेको धेरैले टिप्पणी गरेका छन्।

यसअघि पनि उनले ‘जेनजी’ आन्दोलनलाई समर्थन गर्दै विभिन्न पोस्टहरू सेयर गर्दै आएका थिए।

कात्तिक ८, २०८२ शनिबार ११:२४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।