घरधुरीको २ रुपैयाँबाट शुरू झरना रनिङ शिल्डमा लाखौँ पुरस्कार

घरधुरीको २ रुपैयाँबाट शुरू झरना रनिङ शिल्डमा लाखौँ पुरस्कार

बुटवल : वि.सं. २०२७ सालमा स्थापना भएको झरना स्पोर्ट्स क्लब रुपन्देहीको सबैभन्दा पुरानो क्लबमध्येको एक हो। ५५ वर्ष पूरा भएको यो क्लबको फुटबलमा आफ्नै इतिहास छ।

स्थानीय स्व. टेकबहादुर बुढाथोकी, पदमबहादुर थापा, शोभाखर बगाले, लक्ष्मी बस्याल, पूरन केसी, सुशील घिमिरे, टंक सुवेदी, छत्रबहादुर दर्लामीको समूहले ‘लोफर’ नाम राखेर बनाएको त्यो समूह नै अहिलेको झरना स्पोर्ट्स क्लब हो।

त्यो बेला ‘लोफर’ समूह रुपन्देही जिल्लाभित्र मात्र नभई पाल्पा, नवलपरासी, चितवनसम्म पुगेर खेल खेल्ने गर्दथ्यो। अहिले जस्तो नगद पुरस्कार नभई विजेताले शिल्ड प्राप्त गर्थे। तर पनि यो समूह आफ्नो खेल प्रभुत्व जमाउन जिल्लाबाहिरसम्म पुग्थ्यो।

खेल खेल्ने क्रममा यो समूह पाल्पा पुग्यो। पाल्पामा भएको प्रतियोगिताबाट फर्केर आउँदा खोलापारि झरना बगेको देखेपछि ‘लोफर’ को नाम परिवर्तन गरी ‘झरना’ राख्ने निधो गरेको संस्थापक खेलाडी तथा झरना स्पोर्ट्सका जानकार बताउँछन्। त्यो बेला क्लबका संस्थापक अध्यक्ष स्व. टेकबहादुर बुढाथोकी थिए।

यस्तो छ इतिहास
जिल्ला-जिल्लामा पुगेर खेल खेल्ने क्लबले पछि आफैँ प्रतियोगिता सञ्चालन गर्ने योजना बनायो। खेल र खेलाडीलाई प्रोत्साहन गर्ने योजनासहित प्रतियोगिता सुरु गर्ने योजना बन्यो। पाँच सय रुपैयाँ जम्मा गरेर शिल्ड ल्याई खेल खेलाउन सुरु गरियो।

क्लब बनाउने, सामूहिक काम गर्ने भन्नेबारे सोच नै नआउने त्यो समयमा, रुपन्देहीमा झरना स्पोर्ट्स नगन्यमा पर्थ्यो। साविकको आनन्दवन गाविसको कुन्जालापुरस्थित झरना स्पोर्ट्सले ०३९ सालसम्म अन्य खेलाडी पनि क्लबमा आबद्ध गराएको थियो। अझ रोचक कुरा, खेलका लागि समूह र कुन्जालापुरका स्थानीयबाट बजेट संकलन गरी खेल सञ्चालन गरिन्थ्यो।

वि.सं. ०३९ बाट क्लबले रनिङ शिल्ड खेलाउने तयारी गर्यो। तर कसरी? क्लबसँग बजेट थिएन। त्यसैले प्रत्येक घरबाट अनिवार्य २ रुपैयाँ जम्मा गर्न थालियो। टिकटको १ रुपैयाँ र पार्किङको २ रुपैयाँ लिने निर्णय भयो।

खेल खेलाउन प्राङ्गणको पनि आवश्यकता पर्यो। त्यसका लागि व्यक्तिगत जग्गा भएका मानिसलाई अर्को स्थानमा भोगचलनमा रहेको जग्गा दिई, उमा आधारभूत विद्यालयको अगाडिको करिब ३ बिघा जग्गामा प्राङ्गण बनाएको झरना स्पोर्ट्स क्लबका निवर्तमान अध्यक्ष लोक पुन बताउँछन्।

पहिले भोगचलनका आधारमा रहे पनि पछि नापी र गाविसले त्यहाँ पुर्जा वितरण गरेको थियो। विस्तारै भैलो खेलेको रकम, आमा समूहले संकलन गर्ने रकम क्लबका लागि प्रयोग गर्दै झरना अघि बढेको हो।

खेलप्रेमीको सहयोगकै कारण आज पनि झरना रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ। त्यो बेला रनिङ शिल्ड लिनका लागि गोरखपुरसम्म जाने गरिन्थ्यो। हरेक पटकको रनिङ शिल्डका लागि विदेशमा रहेका स्थानीयले आवश्यक सामग्री, ड्रेस आदि पठाइदिन र प्रायोजन गर्न थाले। हरेक घरबाट उठाउने रकम थोरै-थोरै वृद्धि गरिँदै लगियो।

द्वन्द्वमा खेलाडी आएनन्
रकम उठाएर र विदेशमा गएका युवाहरूले प्रायोजन गरेर क्लबले प्रतियोगिता सुरु गरिरहँदा तत्कालीन माओवादीले संकटकाल घोषणा गर्यो। त्यसपछि अन्यत्रबाट प्रतियोगितामा खेलाडी आउन सकेनन्। क्लबले पत्राचार गर्दा समेत असुरक्षा भन्दै खेलाडी नआएपछि वि.सं. ०५५ सम्म खेल अवरुद्ध भयो।

वि.सं. ०५५ पछि विस्तारै टिम आउन थाले र पुनः खेल सुरु भयो। त्यसरी सुरु भएको इतिहासले झरनाले स्थापनाको ५५औँ वर्ष पार गरिसकेको छ भने रनिङ शिल्डको ३७औँ संस्करण सकाएको छ। स्वर्गीय उदीयमान खेलाडी अंकित पुनको स्मृतिमा रनिङ शिल्ड सम्पन्न भएको हो।

हरेक वर्ष दशैँको फूलपातीदेखि झरना रनिङ शिल्ड नकआउट प्रतियोगिता खेलाइन्छ। हाल हरेक घरबाट एक जना सदस्य झरना रनिङ शिल्डका लागि स्वयंसेवक र ५ सय रुपैयाँ सहयोग अनिवार्य नै गरिएको छ।

त्यसबाहेक आफ्नो इच्छाले विदेशमा रहेका स्थानीय र साथीभाइले सहयोग गरी प्रतियोगिता गर्दा झरनाको ३७औँ संस्करणमा प्रथम पुरस्कार ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको थियो।

दोस्रो टिमले १ लाख ८६ हजार रुपैयाँ प्राप्त गर्यो। खेल हुने अवधिभरि झरनामा ८० जना स्वयंसेवक खटिन्छन् र हरेक घरबाट एक सदस्य खेलका लागि खटिन्छन्। यस वर्षको ३७औँ झरना रनिङ शिल्ड नकआउट प्रतियोगिताको उपाधि योङ स्टार, मडाहाले जितेको थियो। उपविजेता भने कपिलवस्तु-११ भयो।

सामाजिक कार्यमा पनि सक्रिय
दुर्गा मन्दिरको जग्गामा साँझ परेपछि अन्यत्रका खराब मान्छे आउने, धुम्रपान आदि गर्ने र विकृति फैलाउने कार्य हुन्थ्यो। त्यसको नियन्त्रणका लागि क्लबले स्थानीयको सहयोगमा विभिन्न कार्यहरू प्रारम्भ गर्यो।

विस्तारै वृक्षारोपण, सरसफाइ गर्दै क्लबले नै उक्त स्थानको संरक्षण गर्ने जिम्मा लियो र निर्माण भयो कुञ्जपार्क। हाल पार्कमा हरेक दिन बिहान-साँझ झरनाका सदस्य र अन्य स्थानीयले गोडमेल, सरसफाइ गर्ने गर्छन्। आमा तथा बुवा समूहबाट सहयोग भई पिकनिक सेड, पानी ट्यांकी निर्माण गरिएको छ।

सदस्य तथा स्थानीयले आफ्ना स्व. सदस्यको स्मृतिमा बस्ने बेन्चदेखि फूलका बिरुवासम्म रोप्ने गरेका छन्। वि.सं. २०६६ मा स्थापना भएको पार्कको मुख्य विशेषता त्यहाँ रहेको तलाउ हो। करिब एक बिघा क्षेत्रफलमा फैलिएको सो पोखरीमा सयरका लागि पाँचवटा डुङ्गा सञ्चालनमा छन्। पार्कभित्र ६ वटा पिकनिक सेडहरू निर्माण गरिएका छन्।

पार्कमा रहेका पानीका फोहरा, कुञ्ज क्याफे, मनमोहक बगैँचा, पुरानो समइमाई मन्दिर, बाल उद्यान, हरियाली र शान्त वातावरणका कारण त्यहाँ पुग्नेहरूको भीड हुने गर्दछ। पार्क करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ।

चाइनिज गुलाफ, पिटोनिया, डालिया, पाउलानिया, गुल्मोहर, चेरी, क्रिसमस ट्रि, ब्याम्बो आदि प्रजातिका बिरुवाले पार्क हरियाली र हराभरा बनेको छ। पोखरीको चारैतिर राखिएका विद्युतीय बल्बको कलर लाइटिङले साँझपख पार्कको सुन्दरतालाई झनै बढाएको छ। आँप, लिची, कटहर र रक्तचन्दनका रुख पनि पार्कभित्र छन्।

शताब्दीअगाडि तराईवासीहरूको बसोबास रहेको सो ठाउँमा थारु समुदायकी महिला कुञ्जलीले तलाउ खनेको कथन छ। पहिले झाडी भएको ठाउँलाई विस्तारै सफा गर्दै ६ वर्षदेखि कुञ्जपार्कका रूपमा व्यवस्थापन हुँदै आएको छ।

पार्कसँगै जोडिएको उमा आधारभूत विद्यालयको चार बिघा जग्गा ३० वर्षका लागि भाडामा लिएर यसको विस्तार गर्ने योजना रहेको समितिको छ। ‘रमाईलो उद्यान, हिँड्ने ट्र्याक, ग्रिनरीसहितका संरचना त्यहाँ बन्नेछन्,’ क्लबका अध्यक्ष लोक पुनले भने। उनले पार्कको व्यवस्थापनमा कंक्रिट संरचनालाई प्राथमिकतामा नराखेको समेत बताए।

पार्कमा अवलोकनका लागि अहिले प्रतिव्यक्ति ३० रुपैयाँ लाग्छ। पार्कबाट वार्षिक ४० लाखभन्दा बढी आम्दानी हुने गरेको छ। तराई क्षेत्रको लोपोन्मुख काठको लडिया पनि पार्कमा राखिएको छ। पार्कभित्रै चार सय वर्ष पुरानो दाबी गरिएको कर्माको रुख, थारु समुदायले देवताका रूपमा मान्ने सोमैमाई थान (मन्दिर) र हिन्दु धर्मावलम्बीको दुर्गा मन्दिर पनि छ।

संगीत, रङ र पानीको समिश्रणयुक्त ‘म्युजिकल वाटर फाउन्टेन’ कुञ्जपार्कमा बन्ने तयारी भएको अध्यक्ष पुनले जानकारी दिए। भारतको प्रसिद्ध तीर्थस्थल अक्षरधाममा देखिने ‘म्युजिकल वाटर फाउन्टेन’ जस्तै सानो आकारको फाउन्टेन कुञ्जपार्कमा बन्ने भएको हो। त्यसका लागि प्रारम्भिक अध्ययनपश्चात् अहिले बोलपत्र आह्वान भइसकेको छ। रात्रीकालीन पर्यटकलाई लक्षित गर्दै तिलोत्तमा नगरपालिकाले यो आयोजना सुरु गर्न लागेको हो।

कुञ्जपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पुनले ‘म्युजिकल वाटर फाउन्टेन’ नेपालमै नयाँ प्रविधिको बन्न लागेको बताए। तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ करोड १ लाख बजेट विनियोजन गरेर ‘म्युजिकल वाटर फाउन्टेन’ बनाउने तयारी गरेको छ। अपुग रकम आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिनेछ।

कुञ्जपार्कलाई रात्रीकालीन पार्कका रूपमा विकास गरिँदै आएको र थप पार्कलाई आकर्षित बनाउन ‘म्युजिकल वाटर फाउन्टेन’ले ठूलो भूमिका निर्वाह गर्ने उनले बताए।

पार्कभित्र रहेको पोखरीको बीचमा ‘म्युजिकल वाटर फाउन्टेन’ बनाउन लागिएको हो। ‘यो नौलो हुनेछ। हामी अत्याधिक गर्मी हुने ठाउँमा छौँ। रात्रीकालीन पार्कसमेत यो भएकाले ‘म्युजिकल वाटर फाउन्टेन’ नेपालमै पहिलो हुनेछ,’ अध्यक्ष पुनले भने। ‘म्युजिकल वाटर फाउन्टेन’ तयार भएपछि पार्कलाई राति ११ बजेसम्म सञ्चालन गरिनेछ। जसका कारण आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र पार्क बन्ने विश्वास समितिले लिएको छ।

क्लबले यसबाहेक रक्तदान, सरसफाइ कार्यसमेत निरन्तर गर्दै आएको छ। लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष तिहारमा देउसीभैलोसमेत सञ्चालन गर्दै आएको छ।

कात्तिक ८, २०८२ शनिबार १०:०१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।