टिकटकले तीन महिनामा नेपालबाट २५ लाख भिडियो हटायो
काठमाडौं : सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिकमा नेपालबाट सामुदायिक निर्देशिका उल्लङ्घन गर्ने झन्डै २५ लाख भिडियो हटाएको छ।
प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने प्रतिबद्धताअन्तर्गत टिकटकले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
यो रिपोर्टमा अप्रिलदेखि जुन २०२५ सम्मको तथ्याङ्क समेटिएको छ। रिपोर्टअनुसार, यस अवधिमा नेपालमा कुल २४ लाख ७६ हजार ३४५ भिडियोहरू हटाइएको हो।
यीमध्ये ९९.८ प्रतिशत भिडियोहरू टिकटकले आफैँ सक्रियतापूर्वक हटाएको थियो भने ९८.४ प्रतिशत भिडियोहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको रिपोर्टमा उल्लेख छ।
विश्वव्यापी रूपमा टिकटकले सोही अवधिमा १८ करोड ९५ लाखभन्दा बढी भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका कुल भिडियोको करिब ०.७ प्रतिशत हो। यीमध्ये अधिकांश भिडियोहरू स्वचालित प्रविधिमार्फत पहिचान गरी हटाइएको थियो।
किन हटाइए भिडियोहरू?
रिपोर्टका अनुसार, भिडियोहरू हटाउनुका मुख्य कारणहरूमा संवेदनशील तथा वयस्क सामग्री, सुरक्षा र सभ्यताको मापदण्ड उल्लङ्घन, र गोपनीयतासम्बन्धी नियमहरूको उल्लङ्घन रहेका छन्।
यसैगरी, गलत सूचना तथा एआई-द्वारा सिर्जित भ्रामक सामग्रीलाई पनि कडाइका साथ हटाइएको टिकटकले जनाएको छ।
भिडियोहरूबाहेक, टिकटकले आफ्नो प्लेटफर्मको विश्वसनीयता कायम राख्न ७ करोड ६९ लाखभन्दा बढी नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंकामा २ करोड ५९ लाख खाताहरू पनि हटाएको छ।
टिकटकले यस्ता रिपोर्टहरू नियमित रूपमा प्रकाशन गरी पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको बताएको छ। विस्तृत जानकारीका लागि प्रयोगकर्ताहरूले टिकटकको ट्रान्सपरेन्सी सेन्टर भ्रमण गर्न सक्नेछन्।
कात्तिक ८, २०८२ शनिबार ०९:००:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।