अमेरिकाले ‘युद्धलाई बढावा’ दिएको भेनेजुएलाका राष्ट्रपतिको आरोप

अमेरिकाले ‘युद्धलाई बढावा’ दिएको भेनेजुएलाका राष्ट्रपतिको आरोप

एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले संयुक्त राज्य अमेरिकामाथि ‘युद्धलाई बढावा’ दिएको आरोप लगाएका छन्।

अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत क्यारिबियन क्षेत्रमा पठाएपछि राष्ट्रपति मादुरोको यस्तो भनाइ आएको हो, जसले यस क्षेत्रमा सैन्य तनाव थप बढाएको छ।

अमेरिकी रक्षा मन्त्रालयले शुक्रबार यूएसएस जेराल्ड आर फोर्ड नामक विमानवाहक पोतलाई भूमध्यसागरबाट क्यारिबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएको थियो। यो पोतले ९० वटासम्म विमान बोक्न सक्ने क्षमता राख्छ।

राष्ट्रपति मादुरोले सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘उनीहरू एउटा नयाँ युद्ध सिर्जना गर्दैछन्। उनीहरूले अब कहिल्यै कुनै युद्धमा सामेल नहुने वाचा गरेका थिए, तर फेरि युद्ध निम्त्याइरहेका छन्।’

पछिल्ला दिनहरूमा अमेरिकाले क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ।

अमेरिकाले यस क्षेत्रमा युद्धपोत, आणविक पनडुब्बी र एफ-३५ लडाकु विमानहरू तैनाथ गरेको छ। यद्यपि, अमेरिकाले भने यो अभियान लागुऔषध तस्करी नियन्त्रण गर्ने उद्देश्यले चलाइएको बताउँदै आएको छ।

कात्तिक ८, २०८२ शनिबार ०८:१७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।