मिथिलामा छठ पर्वको रौनक, ‘नहाय-खाए’ विधिबाट विधिवत सुरुवात

मिथिलामा छठ पर्वको रौनक, ‘नहाय-खाए’ विधिबाट विधिवत सुरुवात

धनुषा : सूर्य उपासनाको महापर्व छठ मिथिला क्षेत्रमा आज ‘नहाय-खाए’ विधिबाट विधिवत रूपमा सुरु भएको छ।

मिथिलाको सबैभन्दा ठूलो र पवित्र पर्व मानिने छठको आगमनसँगै जनकपुरधामका पोखरी तथा जलाशयका घाटहरूलाई दुलही झैँ सिँगार्ने काम तीव्र पारिएको छ। यहाँका प्रसिद्ध गङ्गासागर, अरगजा पोखरी, धनुष सागर, र दशरथ तलाउलगायतका घाटहरूमा सजावट र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि घाटको सरसफाइ, सजावट र श्रद्धालुहरूका लागि विशेष व्यवस्थापन गरिएको बताए। उनका अनुसार, यस वर्ष प्रतिअर्घ्य रु. ६०० सहयोग शुल्क निर्धारण गरिएको छ, तर सहयोग गर्न नसक्नेहरूले पनि पूजा गर्न पाउनेछन्।

‘श्रद्धालु भक्तजनबाट उठेको सहयोगले नै व्यवस्थापन खर्च जुट्ने गरेको छ’, उनले भने। गङ्गासागर घाटमा पण्डाल निर्माणको काम सकिएको छ भने झिलिमिली बत्ती जडानको काम भइरहेको छ।

यसैगरी, अरगजा पोखरीमा पनि छठ घाट निर्माण र सरसफाइको काम तीव्र गतिमा भइरहेको समितिका सचिव वीरेन्द्र कर्णले जानकारी दिए। उनले यस पोखरीमा हिन्दू मात्र नभई मुस्लिम समुदायका सदस्यहरूले पनि छठ मनाउने गरेको बताउँदै यसले सामाजिक सद्भाव बढाएको उल्लेख गरे।

कर्णका अनुसार, श्रद्धालुहरूले स्वेच्छाले सहयोग रकम दिने गरेका छन् र कसैलाई पनि दबाब दिइँदैन।

छठ पर्वमा घरेलु तथा स्थानीय उत्पादनको विशेष महत्त्व रहन्छ। पर्वका लागि चाहिने गहुँ, चामलजस्ता अन्नलाई घरमै धोइपखाली गरी जाँतोमा पिसेर ठेकुवा, भुसवाजस्ता परिकार बनाइन्छ।

यतिबेला जनकपुरधामका बजारहरूमा छठका लागि आवश्यक सामग्री किन्नेहरूको घुइँचो लागेको छ। बाँस र माटोबाट बनेका सामानहरू शुद्ध मानिने भएकाले बजारमा नाङ्लो, ढकी, छिटी (टोकरी), कन्सुपती, दियो र माटोको हात्तीजस्ता सामग्रीको बिक्री बढेको छ।

यस्तो छ चार दिने विधि:
चार दिनसम्म निष्ठापूर्वक मनाइने यस पर्वमा व्रतालुहरूले दुई दिन निराहार व्रत बस्नुपर्दछ।
पहिलो दिन (आज): ‘नहाय-खाए’ विधिअन्तर्गत व्रतालुहरूले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेर व्रत सुरु गरेका छन्।
दोस्रो दिन (आइतबार): यस दिनलाई ‘खरना’ भनिन्छ। व्रतालुहरू दिनभर उपवास बसी साँझमा खीर बनाएर देउतालाई चढाई प्रसाद ग्रहण गर्छन्।
तेस्रो दिन (सोमबार): पर्वको मुख्य दिन, व्रतालुहरूले दिनभरि बनाएका ठेकुवा, भुसवाजस्ता परिकार र केराको घरी, माटोको हात्तीजस्ता पूजा सामग्रीसहित साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्।
चौथो दिन (मङ्गलबार): बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रूपमा समापन हुन्छ।

कात्तिक ८, २०८२ शनिबार ०८:०३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।