रुकुम पश्चिममा जिप दुर्घटना, ८ जनाको मृत्यु, १० घाइते

रुकुम पश्चिममा जिप दुर्घटना, ८ जनाको मृत्यु, १० घाइते

त्रिवेणी : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा शुक्रबार साँझ जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका-२ स्यालाखदीका लागि छुटेको रा१ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका अनुसार दुर्घटनामा ७ जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिका-२ स्यालाका ३० वर्षीया कमला वली, २२ वर्षीय गोपाल वली, १८ वर्षीया शर्मिला विक, १७ वर्षीया मनिका वली, १६ वर्षीय टेकजङ्ग बुढा र १५ वर्षीया दिलमाया बुढा रहेका छन्।

त्यसैगरी, आठबिसकोट नगरपालिका-१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विकको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये नौ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका-२ की १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, २० वर्षीया महिमा ओली, १७ वर्षीया अञ्जना ऐरी, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेका छन्।

घाइतेमध्ये १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

प्रहरीका अनुसार जिप सडकबाट करिब ७०० मिटर तल खसेको थियो। क्षमताभन्दा बढी यात्रु (ओभरलोड) र साँघुरो सडकका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

कात्तिक ८, २०८२ शनिबार ०७:४४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।