गायिका नीतु पौडेलको टिकटकमा देखिएको गायक बाबुलसँगको प्रेम सम्बन्ध र वियोग
काठमाडौं : पृष्ठभूमिमा गायक तथा संगीतकार बाबुल गिरीले गाएको गीत ‘मुटु फुटी मन भाँची झर्छु होला म, तिम्रो बाटो कुर्दाकुर्दै मर्छु होला म।’
गायिका नीतु पौडेलले आँसु झार्दै गरेको भिडियो बनाएर पोस्ट गरेको भिडियोको स्क्रिनमा लेखिएको छ, ‘एउटा फूल ओइलाएर मर्न आँटेको छ। त्यसलाई मायाले सम्हालेर सजाएर राख्छौ कि निमोठेर मार्दिन्छौ, तिम्रो हातमा छ माया।’
उनै गायिका नीतुको शुक्रबार बिहान उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भयो। मृत्युको कारण उनको शरीरमा लागेको आगोले श्वासनलीसँगै शरीरको ६० प्रतिशत भाग जल्नु थियो।
उनले आफ्नो शरीरमा आगो लगाएको स्थान उनै गीतका गायक बाबुलको स्टुडियो थियो। करिब तीन महिनापहिले फिल्म ‘सिटामोल’का लागि बाबुलले संगीत दिएको र आफैँले गाएको यो गीत तिहारको माहौलमा सत्य बनिदियो।
नीतुको टिकटकमा रहेका भिडियोहरूले यस्तै प्रेमका पीडा व्यक्त गरिरहेका थिए। उनको टिकटकमा रहेका खुसीका हुन् या दुःख र पीडाका, अधिकांश भिडियोमा उनै बाबुलका गीत प्रयोग भएका छन्।
केही भिडियोमा मृत्यु र मायाबारे लेखेकी गायिका नीतुको परिवारको दाबी र प्रहरीमा उनै गायक बाबुलविरुद्ध परेको जाहेरीको विवरणअनुसार उनको मृत्युको कारण पनि माया नै देखियो।
सामाजिक सञ्जालका उनका शब्दले उनी बाबुलसँग गहिरो प्रेममा परेको तर सम्बन्ध बिग्रिँदै गएको देखाउँछ। एक टिकटक भिडियोमा उनले लेखेकी छन्।, ‘बाँच्ने लाखौँ बहाना भए पनि मर्न बाध्य बनाउने माया हो। त्यही भएर कसैलाई आफूभन्दा धेरै माया नगर्नुस्। मायाको सट्टा मृत्यु उपहार मिल्छ यहाँ।’
सन् २०१८ बाट टिकटकमा भिडियो राख्न थालेकी उनले फाट्टफुट्ट बाबुलको भिडियो राखेको देखिन्छ। बाबुलसँगको पहिलो भिडियोमा उनी र गायिका रचना रिमालसँगै देखिएकी छन्।
चार वर्षअगाडि उनको टिकटकमा बाबुल नेपाल ताराबाट निकालिँदाको दोस्रो क्लिप देखिन्छ, जसमा उनले लेखेकी छन्।, ‘सबैको दिन आउँछ। प्रतीक्षा गर्न सक्नुपर्छ। गिरेर तिरस्कार गर्नेहरू पाउ पर्न आउनेछन्।’
यो बीचमा उनका अधिकांश टिकटक भिडियो साथीहरूसँग देखिन्छ, जहाँ उनी खुसी देखिएकी छन्।। त्यसको एक वर्षपछि बाबुलसँगको तस्बिर टिकटकमा राख्दै उनले लेखेकी छन्।, ‘ह्याप्पी बर्थडे सर।’ त्यसपछिका उनका टिकटकका भिडियोहरू निकै प्रेमिल देखिन्छन्।
२०२३ मार्चमा उनको टिकटकमा बाबुल झुल्किन्छन् तर समूहमा। होलीको गीतमा रचना रिमालसहित देखिएका छन्। २०२३ अगस्ट १७ मा नीतुले बाबुलसँग ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा माया फुल्ने गाउँ कहाँ होला’ बोलको गीतको भिडियो बनाएर अपलोड गरेकी छन्।।
त्यसको तीन दिनपछि उनले ‘सुन एउटा कुरो, हुनेवाला बुढो’ बोलको गीतमा बाबुलसँग भिडियो बनाएर टिकटकमा राखेकी छन्। भिडियोको हाउभाउले उनीहरू निकै नजिक भएको देखाउँछ।
सन् २०२३ नोभेम्बरमा बाबुलसँग खिचेका तस्बिर टिकटकमा राख्दै जन्मदिनको शुभकामना दिएकी छन्। त्यसमा यसअगाडिको जस्तो ‘सर’ शब्दको प्रयोग छैन।‘ह्याप्पी बर्थडे बाबुल। हजुरको हरेक पलमा सफलता मिलोस्’, लेखिएको छ।
सँगै नीतुको सांगीतिक यात्रा पनि अगाडि बढिरहेको देखिन्छ। लोकगीतबाट सुरु भएको सांगीतिक यात्रा बाबुलसँगको सहकार्यपछि आधुनिक गीतमा प्रवेश गरेको देखिन्छ।

पछिल्ला दिनहरूमा उनको टिकटकमा राख्ने भिडियोको भाव बदलिएको देखिन्छ। ‘एउटा नभए अर्को रोज्ने यो संसारमा म तिमीलाई नै रोज्नेछु’ जस्ता सन्देश हुँदै एक साताअगाडि उनले ‘बाहिरबाट जस्तो देखिन्छ, भित्र पनि उस्तै हुँदैन मान्छे’ सन्देशसहित भिडियो राखेकी थिइन्।
सात वर्षदेखि सम्बन्धमा
शुक्रबार बिहान उनको मृत्यु भएपछि परिवारका सदस्यले सिंहदरबार प्रहरी वृत्तमा जाहेरी दिएका छन्। जाहेरीमा आत्महत्या गर्न दुरुत्साहन गरेको दाबी गरिएको छ।
जाहेरीअनुसार नीतु अनामनगरमा क्याफे सञ्चालन गरेर बसेको अवस्थामा बाबुल भनिने धनबहादुर गिरीसँग चिनजान भएको थियो। उनीहरू सात/आठ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र ‘छिट्टै विवाह गर्दैछौँ’ भनेर उनले बाबुलाई भनेकी थिइन्।
‘तर निजले प्रेम सम्बन्धको नाममा शारीरिक शोषण मात्र गरेको, १ वर्षदेखि बाबुल गिरी, निजका दिदी तथा परिवारका सदस्यहरूले पटक-पटक छोरीलाई धाकधम्की र मानसिक यातना दिँदै आएका थिए’, जाहेरीमा उल्लेख छ।
‘कात्तिक १ गते बाबुलले मेरी छोरीलाई ‘विवाहका बारेमा आज टुङ्गो लगाउनु छ, मेरो स्टुडियोमा आऊ’ भनी बोलाएकाले ‘म निजको स्टुडियो जाँदैछु’ भनेर छोरीले भनेकी थिइन्। मेरी छोरी निजको स्टुडियो पुगेपश्चात् निजले ‘हाम्रो सम्बन्ध अगाडि बढ्न सक्दैन, मेरा परिवारका सदस्यहरूले तिमीसँगको सम्बन्धलाई स्वीकार गर्ने मानेका छैनन्, त्यसैले हामीबीच विवाह हुन सक्दैन’ भनेका थिए’, जाहेरीमा अगाडि भनिएको छ।
प्रगाढ प्रेम सम्बन्ध रहेको र छोरी बाबुलबिना बाँच्न नसक्ने अवस्थामा रहेकाले स्टुडियोमा लामो वादविवाद भएको र वादविवादपछि दिनको करिब २:४५ बजे स्टुडियोको बाहिर मानिस चिच्याएको आवाज आएपश्चात् छिमेकीहरूले खबर गरेपछि शरीरको अधिकांश भाग जलेको अवस्थामा प्रहरीद्वारा उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगी उपचार गराइरहेकोमा कात्तिक ७ गते बिहान मृत्यु भएको जाहेरीमा उल्लेख छ।
जाहेरीमा बाबुलले प्रेम सम्बन्धको नाममा नीतुको चरम शारीरिक शोषण गरेको, शारीरिक तथा मानसिक यातना दिएको, उनका दिदीहरू अञ्जली गिरी र मिना गिरीसमेतले पटक-पटक भिन्न-भिन्न धाकधम्की दिई मानसिक यातना दिएको दाबी छ।
बाबुलले आफ्नो स्टुडियोमा बोलाई लामो वादविवाद गरी आत्मदाह गर्न बाध्य पारेकाले उनको मृत्यु भएको दाबीसहित आत्महत्या गर्न दुरुत्साहनमा कारबाही गर्न माग गरिएको छ।
कात्तिक ८, २०८२ शनिबार ०७:३४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।