प्रसाईँका सहयोगी उच्च सुरक्षा निगरानीमा, सहयोगी टक शो र युट्युबरको सम्बन्ध केलाउँदै खुफिया संयन्त्र
काठमाडौं : राजतन्त्र फर्काउने भन्दै चैत १५ मा तीनकुनेमा विरोध प्रदर्शन गर्दै लुटपाटको सुरुवात गराएको समूह छठ सकिए लगत्तै आन्दोलनको तयारीमा लागेसँगै सुरक्षा संयन्त्र पूर्व तयारीमा जुटेको छ।
दुर्गा प्रसाईँले केही युट्युबरको प्रयोग गर्दै जेन-जी आन्दोलनमा सहभागी विरुद्ध अफवाह फैलाउन र छठ लगत्तै हुने आन्दोलनले देशै ठप्प पार्ने दाबीको प्रचार गरिरहेका छन्।
उनले सामाजिक सञ्जाल, त्यसमा पनि आफ्नो कुप्रचारमा सघाउने टेलिभिजन र युट्युबमा अन्तर्वार्ता दिँदै छठपछि भीषण आन्दोलन हुने भन्दै अत्यावश्यक सामग्रीहरू जोहो गर्न भनिरहेका छन्।
त्यसैमा मिसिँदै पत्रकार, अधिवक्ता हुँदै राजतन्त्रको पक्षमा सक्रिय भएका स्वागत नेपालसमेत छठपछि व्यवस्था बदल्न भीषण आन्दोलनको तयारी भइरहेको भन्दै प्रचारमा सक्रिय छन्।
यी दुवै गत चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शनको कमान्डर र प्रवक्ता हुन्। जेन-जी आन्दोलनको दोस्रो दिनको विध्वंससँगै राज्य संयन्त्र कमजोर भएको मौका छोपेर आन्दोलन मार्फत राजतन्त्र फर्काउने रणनीतिमा उनीहरू पुन सक्रिय भएका छन्।
उनीहरूको सक्रियता बढेसँगै चैत १५ र भदौ २३ र २४ गते भएको सुरक्षा चुक दोहोरिन नदिन सुरक्षा संयन्त्र पनि सक्रिय देखियो।उकेराले शुक्रवार केही सुरक्षा अधिकारीसँग सम्पर्क गर्दा अहिले सो समूहको तयारी र संलग्नहरूमाथि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय देखियो।
चैतको आन्दोलनसँगै भदौ २३ र २४ को आन्दोलनमा घुसपैठ गराएर हिंसात्मक र विध्वंसक बनाउन दुर्गा प्रसाईँ समूहको सक्रियताबारे गुप्तचर र प्रहरी दुवैले सूची बनाइरहेको स्रोतले उकेरालाई जानकारी दियो।
"भदौ २३ मा संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गर्दै माहौल उत्तेजक बनाउन र २४ गते मुख्य रूपमा व्यापारिक प्रतिष्ठानमाथिको आगजनी र लुटपाटमा प्रसाईँ समूहका सदस्य देखिएका छन्"स्रोतले भन्यो, "तोडफोड र आगजनीमा संलग्न देखिएका सुकुम्वासी बस्तीका सदस्य, राइड सेयरिङमा आबद्ध मोटरसाइकल र ट्याक्सी चालकहरूको सम्बन्ध प्रसाईँसँग देखिएको छ।"
दुई हजार चालक प्रसाईँसँग
जबजब प्रसाईँले आन्दोलनको घोषणा गर्छन् आवश्यक जनशक्ति राइड सेयरिङमा संलग्नबाट लिने गरेको देखिन्छ। स्रोतका अनुसार प्रसाईँले मुख्य गरी पठाओ, इनड्राइभमा संलग्न राइडरहरूलाई खर्च दिएरै प्रदर्शनमा सहभागी गराउने गरेको खुलेको स्रोत बताउँछ।
राप्रपासँग मिलेर दरवारमार्गबाट शुरू भएको मोटरसाइकल र्यालीदेखी यही ट्रेन्ड देखिएको हो। छठपछि आन्दोलन भए प्रसाईँले पुन त्यही समूहको प्रयोग गर्न सक्ने भन्दै सुरक्षा संगठनले चैत १५ र भदौ २३ र २४ मा संलग्न भएकाहरूको प्रोफाइल तयार पारिरहेको खुल्यो।
राजावादी समूह समेत त्यसैमा मिसिने तयारीमा देखिएपछि चैत १५ को आन्दोलनमा संलग्न, मुद्दा चलेर धरौटीमा छुटेकामाथि पनि निगरानी बढाइएको छ। यसमा राप्रपा र राप्रपा नेपालसँगै धवलशमशेर राणा, रवीन्द्र मिश्र, खुस्बु ओली, चैत १५ को आन्दोलनको आयोजक समितिमा सदस्य लगायतकाको गतिविधिमाथि निगरानी सुरु भइसकेको सुरक्षास्रोतको दाबी छ।
"यस अगाडिका दुवै आन्दोलनको सुरक्षाको मुख्य कमजोरी सम्भावित चुनौतीको आंकलन,रणनीति निर्माण र खुफिया संगठनको कमजोर सूचना देखियो," गृहस्रोतले उकेरासँग भन्यो "अहिले यी सबै कमजोरी सच्याउँदै प्रारम्भबाटै सूचना संकलन,निगरानी, रणनीति निर्माणको काम सुरु गरिसक्यौ।"
प्रचारको मुख्य हतियार युट्युब र केही टेलिभिजन
प्रसाईँले वित्तीय संस्था विरुद्ध भ्रम फैलाउनदेखि आफ्नो अराजक प्रभाव बढाउन केही युट्युवर र टेलिभिजनको सहयोग लिने गरेका छन्। त्यसैको आधारमा सुरक्षा स्रोतले ती युट्युवर र टेलिभिजन सञ्चालकसँगको प्रसाईँको सम्बन्ध समेत केलाइरहेको खुल्यो।
मुख्य रूपमा प्रसाईँले जब जब अराजक गतिविधिको तयारी गर्छन् तबतब उनको प्रभाव बढाउन सहयोग गर्ने मनसायले अन्तर्वार्ताको आवरणमा आतङ्क फैलाउन सघाउने च्यानलहरू निगरानीमा रहेको देखियो।
त्यसमा संवेदनशील अवस्थामा प्रसाईँको पटक-पटक अन्तर्वार्ता लिएर एजेन्डा सेट गर्न सघाउने, टिममै बसेर लाइभ लगायतका गतिविधिमा संलग्नहरू निगरानीमा देखिए।
चैत १५ को आन्दोलनको प्रचार र माहौल उत्तेजक बनाउन प्रसाईँको समूहमै बसेर सघाएको भन्दै नेपाल पुकारका प्रकाशचन्द्र दाहाल पक्राउ परेका थिए। प्रसाईँको गाडीमै बसेर निषेधित क्षेत्र तोड्दै गरेको लाइभ गरेका उनीमाथि राज्य विरुद्धको आरोप लागेको थियो।
राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवलगायत ६ वटा अभियोगमा मुद्दा दर्ता भएका दाहाल काठमाडौं जिल्ला अदालतबाट पाँच हजार धरौटीमा रिहा भएका थिए। उनको सहयोगी देखिएका अन्य युट्युवर, उनको टिमका सदस्य र केही टेलिभिजन च्यानल सुरक्षा निगरानीमा देखिए।
चैत १५ को आन्दोलन अगाडि सक्रिय यस्ता च्यानल र युट्युवर प्रसाईँले छठपछि आन्दोलनको घोषणा गरेसँगै पुन उनको अन्तर्वार्ताको बहानामा आन्दोलनको माहोल बनाउन र त्रास फैलाउन सक्रिय देखिन्छन्।
"अहिले आन्दोलनको माहोल बनाउन र डर र त्रास फैलाउन सन्जाल र युट्युवको प्रयोग बढेको छ। यसलाई सुरक्षा जोखिमको रूपमा नहेर्दा पटक पटक चुक भएकाले यो पटक भने बेलैमा गतिविधीमाथिको निगरानी शुरू गरिसकेका छौ," सुरक्षा स्रोत भन्छ "यसमा एकल भन्दा पनि संयुक्त सहकार्य भइरहेको छ।"
कात्तिक ७, २०८२ शुक्रबार २०:४७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।