माइतीघरमा युवाहरूको खबरदारी सभा- ‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकालाई आग्रह

माइतीघरमा युवाहरूको खबरदारी सभा- ‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकालाई आग्रह

काठमाडौं : ‘जेनजी’ आन्दोलनका युवाहरूले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन्।

‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा अभियन्ताहरूले सरकारले आन्दोलनको मर्म आत्मसात् नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूले देशभरका जेनजी युवालाई एकताबद्ध बनाउन सरकारले नै अग्रसरता लिनुपर्नेमा जोड दिए।

अभियन्ताहरूका अनुसार सरकारले जेनजी आन्दोलनलाई दिशाहीन बनाउने प्रयास गरेको छ। उनीहरूले युवाहरूलाई एउटै लक्ष्यमा एकताबद्ध गराउने सट्टा विभिन्न समूहमा विभाजित गर्न खोजिएको आरोप लगाए। उनका अनुसार, “जेनजी युवालाई एक ठाउँमा ल्याउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्छ।”

जेनजी आन्दोलनका घाइते अभियन्ता मदन कार्कीले सरकारले मागहरू सम्बोधन नगरी निर्वाचनमा सहभागी हुन दबाब दिइरहेको बताए। “हामी सडकमा विजयी भयौं, तर वार्तामा हार्यौं। अब फेरि एक भएर लड्नुपर्छ,” उनले भने, “जात, भाषा र पार्टीभन्दा माथि उठेर सबै जेनजी एक हुनुपर्छ, अहिले राष्ट्र नै पहिलो प्राथमिकता हो।”

उनले २०८४ सालको निर्वाचनलाई २०८२ मा सार्नका लागि मात्रै वर्तमान अन्तरिम सरकार बनेको होइन भन्दै आन्दोलनका मागहरू पुरा गर्न प्रतिबद्धता देखाउन सरकारलाई आग्रह गरे।

जेनजी एकताको माग गर्दै भइरहेको माइतीघरको खबरदारी कार्यक्रममा जेनजी एकता अभियन्ता ज्योतिका राईले पनि सरकारको उदासीनतामाथि प्रश्न उठाइन्। उनले भनिन्, “सरकारले नै सम्पूर्ण जेनजी युवालाई एक हुन आह्वान गर्नुपर्छ। हाम्रो माग पूरा नभएसम्म यो विरोध आन्दोलन जारी रहनेछ।”

कात्तिक ७, २०८२ शुक्रबार २०:२६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।