द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ, लागत बढ्दैन : नेपाली सेना

द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ, लागत बढ्दैन : नेपाली सेना

काठमाडौं : नेपाली सेनाले देशका रणनीतिक महत्त्वका ३२ सडक आयोजना सम्पन्न गरेको र अब निर्माणाधीन काठमाडौँ–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) तोकिएको मिति र अनुमानित लागतभित्रै सकिने दाबी गरेको छ।

सेनाको युद्धकार्य निर्देशनालयका निर्देशक मनोज थापाका अनुसार हालसम्म एक हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ निर्माण गरी सरकारले हस्तान्तरण गरिसकिएको छ। “राष्ट्रिय गौरवका आयोजनाहरूलाई तोकिएको समयमै सम्पन्न गर्न सेना प्रतिबद्ध छ,” थापाले भने।

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथस्थित चुवा खेलामा बेलिब्रिज जडान भएपछि हुम्ला अब राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। सेनाले हाल खाँदवारी–किमाथाङका, कर्णाली करिडोर, बनीघाट–आरुघा–लर्कभञ्ज्याङ र दार्चुला–टिंकरण सडक परियोजनासहित करिब २७४ किलोमिटर सडक निर्माण कार्य अघि बढाइरहेको छ।

द्रुतमार्गमा तदारुकताका साथ काम

सेनाको व्यवस्थापनमा भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम पनि तीव्र गतिमा अघि बढेको निर्देशक धर्मेन्द्रकुमार झालले बताए। विसं २०७४ वैशाखमा सेनाले यो आयोजनाको जिम्मेवारी लिए पनि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिमा ढिलाइ हुँदा सुरुवातमा केही समय लागेको थियो।

हाल ७०.९७७ किलोमिटर लम्बाइको द्रुतमार्गको भौतिक प्रगति ४३.६ प्रतिशत र वित्तीय प्रगति ४४.७२ प्रतिशत पुगेको छ। आयोजनाअन्तर्गत ८७ वटा पुल निर्माण गर्नुपर्नेछ, जसमा ८२ मिटरभन्दा अग्ला विशिष्ट पुल पनि छन्। तीमध्ये अधिकांश पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्।

झालका अनुसार द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्म पूरा हुनेछ र प्रारम्भिक अनुमानअनुसारको लागत रु २ खर्ब १३ अर्बभित्रै रहनेछ। “हालको प्रगतिदर हेर्दा मिति र लागत दुवै नियन्त्रणमा छन्,” उनले स्पष्ट पारे।

आर्थिक प्रभाव र सुरुङको स्थिति

द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मध्यतराई र काठमाडौँबीचको दूरी र ढुवानी खर्च दुवै घट्नेछन्। यसले राजधानीमा तराईबाट आउने सामानको यातायात सहज बनाउने र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुर्याउने अपेक्षा गरिएको छ।

आयोजनाअन्तर्गत सातवटा सुरुङमध्ये दुई वटा पूर्ण रूपमा छिचोलिएका छन्, दुई वटा निर्माणाधीन छन् र बाँकी तीन वटाको पोर्टल निर्माण कार्य जारी छ।

सेनाले द्रुतमार्गलाई निर्धारित मितिभित्र सम्पन्न गर्न विशेष ध्यान दिइरहेको र दैनिक प्रगति अनुगमन भइरहेको जनाएको छ।

कात्तिक ७, २०८२ शुक्रबार १४:३४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।