बगहीमा नेपाल-भारतको साझा छठघाट
महोत्तरी : महोत्तरी र धनुषाको सीमामा बगही (बिगही) नदी किनारमा नेपाल–भारतका नागरिकले संयुक्त रूपमा आकर्षक छठघाट निर्माण गरेका छन्। करिब दुई किलोमिटर लामो यो घाट छठ पर्वका अवसरमा दुबै देशका श्रद्धालुहरूका लागि साझा स्थल बनेको छ।
नेपालतर्फ मटिहानी नगरपालिकाका वडा नं. ६, ७ र ८ तथा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ को तुलसियाहीका व्रतालुहरू र भारततर्फ मधवापुर तथा रामपुर बजारका श्रद्धालुहरूको सहज सहभागिताका लागि यो घाट निर्माण गरिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए।
उनका अनुसार दुवै देशका नागरिकबीच धर्म, संस्कृति, चाडपर्व र सामाजिक सम्बन्धको गहिरो नाता रहेकाले साझा छठघाट निर्माणले सांस्कृतिक ऐक्यबद्धताको प्रतीक दर्शाएको छ।
नगरप्रमुख मण्डलले भने, “बीचमा दशगजा छ, तर हाम्रा भाषा, भेषभूषा र परम्परा एउटै छन्। हामीका चाडपर्व सँगै मनाउने परम्परा छ, र यो साझा घाट त्यसैको उदाहरण हो।”
यस वर्षको महापर्व छठ शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु हुँदैछ। आइतबार ‘खरना’, सोमबार साँझ ‘सझुकाघाट’ र मङ्गलबार बिहान ‘भोरकाघाट’ (पारन) विधिबाट पर्व सम्पन्न गरिनेछ। छठ तयारीका लागि नेपालतर्फ मटिहानी र तुलसियाहीका नागरिक तथा भारततर्फ मधवापुर र रामपुरका श्रद्धालुहरू संयुक्त रूपमा घाट सजाउने काममा व्यस्त छन्।
सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को उपासना गर्ने यो पर्वमा व्रतालुहरूले कात्तिक शुक्ल षष्ठीका साँझ अस्ताउँदो र सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। यस वर्ष बगही नदीको यो साझा घाटमा करिब दुई हजार व्रतालुहरूले अर्घ्य दिने र १० हजारभन्दा बढी श्रद्धालुहरू उपस्थित हुने अनुमान गरिएको मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझीले बताए।
छठको रात सझुकाघाटमा अर्घ्य दिएपछि भोलिपल्ट बिहानको अर्घ्यसम्म व्रतालुहरू परिवारसहित घाटमै बस्दै पारम्परिक छठी गीत गाएर जाग्राम बस्ने परम्परा यस वर्ष पनि दोहोरिनेछ।
कात्तिक ७, २०८२ शुक्रबार १४:०८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।