सार्वजनिक रूपमा माफी नमागे ‘मुल्तान सुल्तान’का मालिकलाई कालोसूचीमा राख्ने पाकिस्तान क्रिकेट बोर्डको चेतावनी
एजेन्सी : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) को टोली मुल्तान सुल्तान्सका मालिक अली तारिनलाई सार्वजनिक रूपमा माफी नमागे कालोसूचीमा राख्ने चेतावनी दिएको छ।
अली तारिनले पीएसएल व्यवस्थापनको आलोचना गरेपछि पीसीबीले यस्तो चेतावनी दिएको हो। मुल्तान सुल्तान्स फ्रेन्चाइजले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
पीएसएल शुरू भएको एक दशकपछि यसै वर्षको डिसेम्बरमा सबै फ्रेन्चाइज टोलीहरूको स्वामित्व अधिकार समाप्त हुँदैछ। हालका मालिकहरूले आफ्नो टोली कायम राख्नका लागि फेरि नयाँ बोलकबोल प्रक्रियामा भाग लिनुपर्नेछ।
यदि अली तारिनलाई कालोसूचीमा राखिएमा, उनले आफ्नो टोली मुल्तान सुल्तान्सका लागि फेरि दाबी गर्न पाउने छैनन्।
तारिनले पछिल्लो समय पीएसएल व्यवस्थापनले फ्रेन्चाइज अधिकारको पुनः बोलकबोल प्रक्रिया र अर्को सिजनदेखि दुई नयाँ टोली थप्ने योजनाबारे कुनै पारदर्शी जानकारी नदिएको र सञ्चारको कमी भएको भन्दै आलोचना गर्दै आएका थिए।
मुल्तान सुल्तान्सका अनुसार, पीसीबीले गत महिना एक कानुनी नोटिस पठाउँदै तारिनलाई आफ्नो आलोचनात्मक भनाइ फिर्ता लिन र पीएसएल व्यवस्थापनसँग सार्वजनिक रूपमा माफी माग्न माग गरेको थियो।
नोटिसमा यसो नगरिएमा फ्रेन्चाइज सम्झौता खारेज गर्ने र तारिनलाई भविष्यमा कुनै पनि क्रिकेट टोलीको स्वामित्व लिन नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।
फ्रेन्चाइजले तारिनको बचाउ गर्दै भनेको छ, ‘रचनात्मक आलोचनालाई अपराध मान्नु पीसीबी व्यवस्थापनको संकीर्ण सोच हो। यसले देखाउँछ कि पीएसएल प्रश्न वा जवाफदेहिताका लागि खुला छैन। इमानदार प्रतिक्रियालाई दबाएर महान् लिगहरू बन्दैनन्।’
विज्ञप्तिमा तारिनको पाकिस्तानी क्रिकेटप्रतिको प्रतिबद्धता अटल रहेको र उनको एकमात्र लक्ष्य पीएसएल लाई खेलाडी र प्रशंसकले चाहेको स्तरमा पुर्याउनु रहेको उल्लेख छ।
कात्तिक ७, २०८२ शुक्रबार ०९:५३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।