भारतमा चल्दै गरेको बसमा आगलागी, कम्तीमा १० जनाको मृत्यु
एजेन्सी : भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कैयौँ यात्रु गम्भीर घाइते भएका छन्।
यो दुर्घटना शुक्रबार बिहान कर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिकै भएको हो। बसमा आगो लागेपछि त्यो पूर्ण रूपमा जलेर नष्ट भएको थियो। दुर्घटनाको समयमा बसमा करिब ४२ जना यात्रु सवार थिए।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
बीबीसी तेलुगुको रिपोर्टअनुसार, प्रारम्भिक जानकारीमा एउटा मोटरसाइकल बससँग ठोक्किएर त्यसको मुनि छिरेको र तेल ट्याङ्कीमा ठोक्किएपछि आगो लागेको आशंका गरिएको छ। यद्यपि, स्थानीय प्रशासनले यस कारणको आधिकारिक पुष्टि भने गरिसकेको छैन।
मुख्यमन्त्री चन्द्रबाबु नायडूले सामाजिक सञ्जाल एक्समा लेख्दै कर्नूल दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘कर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिकै भएको भीषण बस आगलागी दुर्घटनाबारे थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ। यस दुर्घटनामा आफ्ना प्रियजन गुमाउने परिवारप्रति मेरो गहिरो समवेदना छ। सरकारले घाइते र प्रभावित परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउनेछ।’
कर्नूल रेन्जका डीआईजी कोया प्रवीणले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार, ‘दुई बालबालिका र दुई चालकसहित करिब १९ जना यात्रु यस दुर्घटनामा सुरक्षित छन्।’
प्रहरीका अनुसार, सर्ट सर्किटको कारण बसको ढोका जाम भएको थियो, जसकारण यात्रुहरू बाहिर निस्कन सकेनन्। केही मिनेटमै बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो। अधिकांश बाँच्न सफल यात्रुहरू २५ देखि ३५ वर्ष उमेर समूहका रहेको बताइएको छ।
कात्तिक ७, २०८२ शुक्रबार ०९:३८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।